ध्रुवसागर शर्मा/ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले स्पष्ट धारणा बनाउन थालेका छन् ।अब विगतमा झै भाषण, आरोप–प्रत्यारोप र खोक्रा आश्वासन बाँड्नेलाई होइन सुशासन,विकास र रोजगारीमार्फत सुन्दर भविष्य निर्माण गरिदिने उम्मेदवार छानेर भोट दिने मनस्थिति यहाँका युवा मतदाताले बनाएका छन् ।
सहरी बजारदेखि ग्रामीण बस्तीसम्मका मतदातामा काम गर्ने, समाज जोड्ने र विश्वास कायम गर्ने नेतृत्व रोज्ने धारणा बलियो बन्दै गएको छ ।मतदाता भवि शर्मा भन्नुहुन्छ “चुनावको मौसममा उम्मेदवार र मतदाता दुबैका विचारहरू तातेका हुन्छन्, शब्दहरू धारिला बन्छन् । उम्मेदवारहरु झुठा आश्वासन र विकासे नारा सुनाउँदै हामीहरुलाई उचाल्दछन् । यो पार्टी, त्यो पार्टी भन्दै हामी आफैँले आफैँबीच पर्खाल खडा गर्न थाल्छौँ । अब हामी मतदाता नै सचेत बन्नुपर्दछ । झुठा आश्वासन दिने र समाज भड्काउनेलाई भोट दिइदैन।”
त्यस्तै बेनी नगरपालिका–२ का मतदाता पूर्णबहादुर खत्री भन्नुहुन्छ “हरेक चुनावमा सपना बाँडिन्छ, तर काम देखिँदैन । अब समाज फुटाउने र झुटा आश्वासन दिने उम्मेदवारलाई भोट दिँदैनौँ । जनताको दुःख बुझ्ने र काम गर्ने मान्छेलाई हो अबको भोट ।”
मंगला गाउँपालिका ५ का किसान हरिकृष्ण पौडेल भन्नुहुन्छ, “हामीलाई मल, सिँचाइ, सडक र बजार चाहिएको हो । जात र दलको कुरा गरेर समाज भाँड्ने राजनीति अब स्वीकार्य छैन । यस्तो प्रवृत्तिलाई भोट जाँदैन ।”
म्याग्दीमा राजनीतिक दलका र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारहरूले मतदाताको असन्तुष्टिलाई स्वीकार गर्दै आफूले फरक शैलीको राजनीति गर्ने दाबी गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवारले कर्णबहादुर भण्डारीले जनताले खोजेको विकास र सुशासन नै हाम्रो मुख्य एजेन्डा भएको बताउनुभयो । उहाँले भन्नुभयो “विभाजनको राजनीति होइन, सबैलाई समेट्ने विकासको बाटोमा हामी प्रतिबद्ध छौँ । मतदाताको विश्वासलाई कामबाटै प्रमाणित गर्छौँ ।”
त्यस्तै नेकपा (एमाले) का उम्मेदवारका हरिकृष्ण श्रेष्ठले नेकपा एमाले जनताको सुख दुःखमा सधैंभरी जनतासँगै रहेको बताउँदै जनताको चाहना अनुसार नै आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “समाजलाई विभाजन गर्ने भाषाशैली होइन, जनताको पक्षमा उभिने राजनीति आवश्यक छ । गरिब, किसान र युवाका मुद्दा संसदमा बलियो रूपमा उठाउनेछौँ ।”
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अर्जुनबहादुर थापाले “म्याग्दीमा अधुरा विकास योजना पूरा गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभयो । उहाँले भन्नुभयो “आश्वासन होइन, स्पष्ट योजना र समयसीमासहित काम गरेर देखाउने हाम्रो लक्ष्य छ ।”
त्यस्तै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीबाट राजिनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बन्नुभएका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै भन्नुभयो “जनताले पुरानो शैली अस्वीकार गरिसकेका छन् । पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काम नै मेरो पहिचान हुनेछ ।”
उम्मेदवारहरुका यी प्रतिवद्धता कत्तिका सत्य हुनेहुन् त्यो त चुनाव पछि देखिएला । तर, यहाँका मतदाताहरुले भने यसपालीको निर्वाचनमा निकै सोचेर मत दिने बताएका छन् । बेनी बजारमा व्यवसाय गर्दै आउनुभएका शिव पौडेलले भन्नुभयो “नेताहरूका कुरा धेरै सुनियो । अब व्यापार, रोजगारी र स्थायित्वका कुरा गर्ने उम्मेदवारलाई नै मेरो र परिवारको भोट जान्छ ।”
युवा मतदाताको अपेक्षा झन् स्पष्ट छ । बेनीकी युवा मतदाता अंगिता पुन भन्नुहुन्छ “हामी भाषण होइन, भविष्य खोजिरहेका छौँ । युवालाई देशमै अवसर दिने नीति र योजना भएको उम्मेदवारलाई मात्र भोट दिन्छौँ ।”
माउन्ट एभरेष्ट आवासीय माविका प्रधानाध्यापक राजु केसीका अनुसार म्याग्दीमा बढ्दो मतदाता चेतनाले यसपटक निर्वाचन भावनाभन्दा मूल्याङ्कनमा आधारित हुने संकेत गरेको छ । खाली आश्वासन र समाजमा दरार ल्याउने रणनीतिले उल्टै उम्मेदवारलाई घाटा पुर्याउन सक्ने उहाँको विश्लेषण छ ।
म्याग्दी जिल्ला एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । जसमध्ये अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।
प्रत्येक पटकको निर्वाचनमा उम्मेदवारहरूले उही आश्वासन बाँड्ने गरेपछि यहाँका मतदाता दिक्क भएका छन् । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर कालोपत्रे गर्ने, अन्य सडक निमार्ण, खानेपानी, शिक्षा, कृषि क्षेत्रको प्रवद्र्धन, सुलभ स्वास्थ्य सेवा, रोजगारीलगायतका मुद्दा हरेकपटक उठाउने गरे पनि आपूmले अनुभूत गर्नेगरी कुनै परिवर्तन नदेखेका मतदाता अब उम्मेदवारसँग जवाफ माग्ने निर्णयमा पुगेका छन् । यहाँ पहिलो पटक मतदान गर्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका मतदाताको संख्या उल्लेख्य छ ।
समग्रमा, म्याग्दीका मतदाताले आगामी निर्वाचनमार्फत स्पष्ट सन्देश दिन खोजेका छन् । मतदाता भन्छन् ‘आश्वासन होइन, काम चाहिन्छ । विभाजन होइन, एकता चाहिन्छ ।’








