नेपाली कांग्रेस म्याग्दीले प्रदेशसभा सदस्यमा क्षेत्र (ख) मा विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना गरेको छ । शुक्रबार मंगला गाउँपालिकाको बावियाचौर, मालिका गाउँपालिका र धवलागिरी गाउँपालिाकाको ताकममा चुनाव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

सम्पर्क कार्यालयको नेपाली कांग्रेसका केन्द्रिय सदस्य, निर्वाचन परिचाल समितिका संयोजक रेशमबहादुर बानियाँलेउद्घाटन गदैं मतदातासँग भेटघाट सहित घरदैलो अभियानलाई थप प्रभावकारी बनाउन सहज हुने बताउनुभयो । सम्पर्क कार्यालयमार्फत पालिकाभित्र हुने पार्टीगत गतिविधि सञ्चालन तथा चुनावी गतिविधिका लागि वडा तथा गाउँस्तरका अगुवा कार्यकर्तालाई समन्वयमा सहज हुने संयोजक बानियाँको भनाई छ ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव भरबहादुर रकाल, महासमिति सदस्य दिपेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) ले सुख दुःखको साथी बनेर काम गर्ने पार्टी कांग्रेस भएकाले अघिल्लो कार्यकालमा पार्टी सभापति एवम् निर्वतमान प्रतिनिधिसभा सदस्यका उम्मेदवार खमबहादुर गर्बुजाले सुरुवात गरेको कामलाई पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पार्टी उपसभापति समेत रहनुभएका भण्डारीले आफ्नो ठाउँका समस्या तथा सल्लाह, सुझाव वा मार्गदर्शन सम्पर्क कार्यालयमा आएर दिन र त्यसलाई सम्बोधन गरिने बताउनुभयो । सम्पर्क कार्यालयले मतदातासँग भेटघाट सहित सुझाव संकलन, पालिका तथा वडास्तरमा रहेको निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिसँग समन्वय गर्ने नेपाली कांग्रेस म्याग्दीले जनाएको छ।









