---Advertisement---

स्वतन्त्र उम्मेदवार महावीरले मतदातालाई भन्नुभयो,‘शिक्षाको भद्रगोल सुधार गर्न उम्मेदवारी दिएको छु’

On: February 14, 2026 10:28 PM
Follow Us:

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुनले शनिबार बेनी नगरपालिकाका विभिन्न बस्तीमा पुगेर मतदाता भेटघाट गर्नुभएको छ । बेनी नगरपालिका–३, भकिम्ली, वडा नं ५, भिरमुनी, वडा नं ६ बास्बोट, अर्थुङे क्षेत्रमा रहेका मतदातासँग भेटघाटमा शिक्षा क्षेत्रको सुधारका लागि थालनी गरेका महत्वपूर्ण प्रयास पूरा नभएपछि चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।

‘मेरो उम्मेदवारी नेता बन्न होइन, शिक्षा क्षेत्रको भद्रगोल सुधारका लागि हो’ उम्मेदवार पुनले भन्नुभयो । उम्मेदवार पुनले शिक्षा क्षेत्रमा राजनीतिकरणका कारण सामुदायिक विद्यालय सहित विश्व विद्यालय तहसनहस भएको बताउनुभयो । शिक्षा क्षेत्रमा महत्त्वपूर्ण सुधार र नियमावली संशोधनको प्रयास सफल नभएपछि उम्मेदवार भएर मतदाताकोमा आएको बताउँदै विजय भएपछि सांसदमा यूवाहरुलाई जोडेर अपुरो काम पुरा गर्ने बताउनुभयो ।


निवर्तमान शिक्षामन्त्री पुनले शिक्षा,अनुसन्धान,नवप्रवद्र्धन,रोजगारी,अर्थतन्त्र र विकासका लागि चुनावमा प्रतिबद्धता नभई काम गरेर देखाउने बताउनुभयो । युवाहरुलाई रोजगार र उद्यमसँग जोडेर देशको अर्थतन्त्र सुधार गरी विकासका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उम्मेदवार पुनले मतदाता भेटघाटमा सहज, सरल र ठट्यौली शैलीले समेत मतदातालाई आर्कषित गरेको छ ।

मतदातालाई जहाँ भेटे त्यही आफ्नो दृष्टिकोण सुनाउँदै रोजगारी र उद्यमसँग जोड्ने योजनासँगै पहिलो प्राथमिकता शिक्षामा भएको उम्मेदवार पुनको भनाई थियो । उम्मेदवार पुनले आफ्नो चुनावी भेटघाटका बारेमा सामाजिक सञ्जालबाट पोष्ट गर्ने र सोही सूचनाको आधारमा मतदाताले स्वागत गर्ने गरेका छन् ।

Leave a Comment