---Advertisement---

केन्द्रिय नेतृत्वप्रति मतदाताका गुनासै गुनासा

On: February 15, 2026 5:32 PM
Follow Us:

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताहरु नेतृत्व चयनका विषयमा खुलेर आफ्ना विचार र गुनासाहरु व्यक्त गर्न थालेका छन् ।

बेनी नगरपालिका ३ भकिम्लीका टेकबहादुर विकले फागुन २१ गते हुने निर्वाचनमा म्याग्दीबाट उम्मेदवारी दिएका सवै उम्मेदवारहरु आआफ्नो ठाउँमा योग्य र भरोसा गर्न लाएकका भएपनि उनीहरुको पार्टीको केन्द्रिय नेतृत्वप्रति विगतका कामहेर्दा भरोसा गर्न नसकिने हुँदा ढुक्कले मतदान गर्न सकिने अवस्था नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “स्वतन्त्रदेखि लिएर सबै पार्टीका उम्मेदवारहरु योग्य हुनुहुन्छ,सहयोगी र जनताको पीडा बुझ्ने खालका नै हुनुहुन्छ,तर उहाँहरुको पार्टीको केन्द्रिय नेतृत्व र भोली मन्त्री प्रधानमन्त्री हुने नेताहरुप्रति नै विश्वास भएन । यहाँका उम्मेदवारसँगै उनीहरुको पार्टीका केन्द्रिय नेतालाई पनि हेरेर मत दिनुपर्ने देखिएको छ ।”

“पार्टी भित्रका केन्द्रिय नेताहरु नै खराब छन्,स्थानीय उम्मेदवारहरु त सबै खाइखेलेका, चिनेजानेका हुन् । सबै राम्रा नै लाग्छन्” बेनी नगरपालिका ४ का मतदाता खगेश्वर पैडेलले भन्नुभयो “कुनै पार्टी आन्तरिकरुपमा विभाजित जस्तै छ, कुनै पार्टीका नेतृत्वले मनपरी बोल्दै जनता भड्काउँदै गरेका छन्,कोही सहकारी ठगीका मुद्धा खेपिरहेका छन्” पौडेलले भन्नुभयो,“स्थानीय उम्मेदवारहरुलाई मात्र हेरेर भोट दिन सकिदैन,देशको नेतृत्व गर्ने व्यक्तिको छबिलाई पनि ध्यान दिएर भोट दिने हो ।

२०७९ मा सम्पन्न चुनावसम्म पार्टी हेरेर उम्मेदवारलाई भोट दिएका यहाँका मतदाताहरु अहिले भने फरक मनस्थितिमा देखिएका छन् । “दलका उम्मेदवारहरु राजनीतिक रुझान भएका छन् । गाउँ गाउँमा संगठन छ,कार्यकर्ता छन् । उनीहरुलाई भेट्न,सम्पर्क गर्न सजिलो छ ,तर दलका मुख्य नेताहरुको कारण स्थानीय उम्मेदवारहरुलाई पनि अप्ठ्यारो महशुस भएको छ” नाम उल्लेख नगर्न अनुरोध गर्दै बेनी नगरपालिका ७ का एक मतदाताले भन्नुभयो “अहिलेको पटक मत फेर्ने मुडमा अधिकांश मतदाताहरु देखिएका छन् ।”

यहाँका मतदाताहरुमध्ये कतिपयले खुलेरै मत बदल्न अभियान चलाएका छन् भने कतिपयले भित्रभित्रै मत फेर्ने योजना बुनेका छन् । स्थानीयबासी धर्मदत्त गौतम पनि पुराना दलहरूको गतिविधिसँग सन्तुष्ट हुनुहुन्छ । “अहिले जनताहरू परिवर्तनको पक्षमा भोट हाल्नेवाला छन् । कसैले कसैलाई फलानो व्यक्तिलाई भोट हाल भनेर मान्नेवाला कोही छैनन्,” उहाँले भन्नुभयो “राजनीतिक दलका नेतृत्वमा वस्नेहरुका व्यवहार, काम गर्ने शैली, भ्रष्टाचार र अनैतिक व्यवहारले गर्दा जनता विरक्तिएर परिवर्तन खोजिरहेका छन् ।”

गौतम पनि स्थानीय उम्मेदवार भन्दा पार्टीका केन्द्रीय नेतृत्वप्रति रुष्ट हुनुहुन्छ “नेताहरूले गरेका पुराना प्रतिबद्धता कुनै पनि पूरा नभएको र झुटा आश्वासन मात्र दिएको देखेर जनता निराश भएका हुन्,” उहाँले भन्नुभयो ।

जिल्लाको ग्रामीण वस्तीको अवस्था दयनीय हुँदै गएको छ । गाउँहरु खाली हुँदैछन् । युवा पलायनका कारण खेतबारी बाँझिएका छन् । पाका पुरानाहरू मात्रै घर कुर्न बसेका छन् । गाउँमा खानेपानीको समस्या चर्काे छ । स्वास्थ्यचौकीहरू छन्, तर उपचारका लागि सदरमुकाम बेनीबजार वा पोखरा काठमाण्डौ जस्ता सहरहरुमा जानुपर्ने वाध्यता छ । गाउँका यी समस्याहरुलाई समधान गरिदिनसक्ने नेतृत्व म्याग्दी जिल्लालाई चाहिएको स्थानीय मतदाताहरुले बताएका छन् ।

मतदाताहरुका यी समस्याहरुप्रति स्थानीय उम्मेदवारहरु पनि जानकार छन् । नेपाली कांग्रेसका उम्मेदवारले कर्णबहादुर भण्डारीले जनताले खोजेको विकास र सुशासन नै हाम्रो मुख्य एजेन्डा भएको बताउनुभयो । उहाँले भन्नुभयो “विभाजनको राजनीति होइन, सबैलाई समेट्ने विकासको बाटोमा हामी प्रतिबद्ध छौँ । मतदाताको विश्वासलाई कामबाटै प्रमाणित गर्छौँ ।”

त्यस्तै नेकपा (एमाले) का उम्मेदवारका हरिकृष्ण श्रेष्ठले नेकपा एमाले जनताको सुख दुःखमा सधैंभरी जनतासँगै रहेको बताउँदै जनताको चाहना अनुसार नै आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “समाजलाई विभाजन गर्ने भाषाशैली होइन, जनताको पक्षमा उभिने राजनीति आवश्यक छ । गरिब, किसान र युवाका मुद्दा संसदमा बलियो रूपमा उठाउनेछौँ ।”

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अर्जुनबहादुर थापाले “म्याग्दीमा अधुरा विकास योजना पूरा गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभयो । उहाँले भन्नुभयो “आश्वासन होइन, स्पष्ट योजना र समयसीमासहित काम गरेर देखाउने हाम्रो लक्ष्य छ ।”

त्यस्तै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीबाट राजिनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बन्नुभएका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै भन्नुभयो “जनताले पुरानो शैली अस्वीकार गरिसकेका छन् । पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काम नै मेरो पहिचान हुनेछ ।”

यहाँका स्थानीय उम्मेदवारहरुप्रति यहाँका मतदाता सकारात्मक नै रहेका स्वतन्त्र बृद्धिजिवी रघुनाथ सापकोटाले बताउनुभयो । “उम्मेदवारहरुले मतदाता भेटघाटका क्रममा देखाएको व्यवहारले पनि यहाँका उम्मेदवारहरुप्रति मतदाताका खासै गुनासा छैनन् तर, केन्द्रिय नेतृत्वको बोली,व्यवहार र आदरणका कारण मतदाताहरु दलका उम्मेदवारहरुप्रति अलि सशंकित देखिएका जस्तो छनक मिलेको छ” उहाँले भन्नुभयो ।

म्याग्दी जिल्ला एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । जसमध्ये अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

Leave a Comment