यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै हिमाली जिल्ला म्याग्दीमा क्रियाशील राजनीतिक दलहरुको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम जारीरहेको छ । स्वतन्त्र उम्मेदवारसहित १२ वटा राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको गाउँवस्ती र टोलस्तरमा घरदैलो गरिरहेका छन् ।

फागुन ४ गते अर्थात् सोमबारदेखि मात्रै औपचारिक कार्यक्रम गर्न पाइने निर्वाचन आचारसंहितालाई मध्यनजर गरी दल तथा उम्मेदवारले त्यसअघि जिल्लाको विभिन्न टोल र वस्ती तथा गाउँघरमा घरदैलो एवं मतदाता भेटघाटको कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चासहित स्वत्रन्त्र उम्मेदवार महाविर पुनले चुनाव प्रचार गरिरहेको जनाइएको छ ।

यसैक्रममा नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले शनिवार मंगला गाउँपालिका र बेनी नगरपालिकाको विभिन्न स्थानमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार बेनी नगरपालिका–३, भकिमलीमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभामा प्रत्यक्षतर्फका उम्मेदवार हरिकृष्ण श्रेष्ठले स्थानीयवासीको मागलाई पहिलो प्राथमिकता दिएर पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । तपार्इँहरुको आवश्यकता नजिकबाट हेरेको छु, मैले समस्या समाधानका लागि काम सुरु गरिसकेको छु प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठले भने ।

उनले मंगला गाउँपालिकाभित्र एमालेले विगतदेखि नै काम गर्दै आइरहेको बताउँदै आसन्न निर्वाचनमा आफू र एमाले पार्टीलाई भोट दिएर थप काम गर्ने अवसर दिन उम्मेदवार श्रेष्ठले अनुरोध गरेका थिए ।
स्थानीय समुदायको मागलाई सम्बोधन गर्दै सडक सञ्जाल, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा थप काम गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य एवं आसन्न निर्वाचनको समानुपातिक उम्मेदवार नरदेवी पुनले बताएकी छन् ।
घरदैलो भेटघाटको क्रममा मतदाताहरुले गाउँटोल, वस्तीमा सडक विस्तार, विद्यालय जाने बाटो बनाउने, खानेपानीको योजना सञ्चालन तथा मर्मतसम्भार, किसानहरुलाई अनुदानलगायत सहुलियत दिने जस्ता जनमुखी कार्यक्रमहरु ल्याउनुपर्ने मागहरु एमाले पार्टी र उम्मेदवारसमक्ष राखेका छन् ।

त्यस्ैत प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर (केवि) भण्डारीले मतदाता भेटघाट र प्रचारप्रसार अभियानलाई तीव्र गतिमा अघि बढाएका छन् । आइतबार अन्नपूर्ण गाउँपालिकाको हिस्तानको वस्तीवस्तीमा पुगेर मतदाताहरुलाई भेटी उनीहरुका समस्या बुझ्नुका साथै आफ्ना भनाइ राख्दै जनताको सुखदुखमा आफू कहिल्यै पछि नहट्ने र गरेका वाचाहरु नबिर्सने प्रतिबद्धता जनाए ।

नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार अर्जुन थापाले बेनी नगरपालिकामा चुनावी अभियान जारी राखेका छन् । स्वतन्त्र उम्मेदवार महाविर पुनले गलेश्वर, बेनीबजार, बगरफाँटमा चुनावी भेटघाट, राप्रपाका उम्मेदवार डम्बरबहादुर सुबेदीले गलेश्वर, बेनीबजार, नेकपा माओवादीका उम्मेदवार धुब्र घिमिरेले मंगला गाउँपालिकाको बरंजा क्षेत्रमा चुनावी प्रचारप्रसारमा ब्यस्त रहेको देखिएको छ ।









