नेपाली कम्युनिष्ट पार्टीबाट म्याग्दीमा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका उमेद्वार अर्जुन थापाले म्याग्दीको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजनालाई पूर्णता दिने प्रतिवद्धता जनाउनुभएको छ । बेनी नगरपालिका–१० गहतेटोल, वाखेत, रघुगंगा गाउँपालिका–५ झिँ र वडा नं.–६ पाखापानी, औला र फुलडाडामा मतदाताका क्रममा उमेद्वार थापाले म्याग्दीको रणनितिक महत्वको बेनी–पाखापानी सडकलाई पूर्णता दिने बताउनुभयो ।
“बेनी– पाखापानी– ठाठाखानी– कुइने-मल्कवाङ– मराङ– बिम– दरवाङ– हुदै बेनी जोड्ने म्याग्दीका पाँच वटा स्थानीय तह समेट्ने राहुघाट म्याग्दी चक्रीय सडकलाई दिर्घकालिन र रणनीतिक महत्वको बनाउने हाम्रो उद्देश्य छ,” उहाँले भन्नुभयो “सडक पूर्वाधारको विकास मार्फत पर्यटन, कृषिमा आधारित उद्यम ब्वयसायको प्रर्वद्धन, रोजगारी र आयआर्जनको अवसर सिर्जना गरि बसाईसराई कम गर्न हामीले जोड दिनेछौ ।”
गण्डकी प्रदेश सरकारका पुर्व मन्त्री समेत रहेका सांसद रेशमबहादुर जुग्जालीले म्याग्दीमा हिमाली जिल्लाको ब्यवहारिक कार्यान्वयन, सुरु गरेका रणनीतिक महत्वका आयोजनाहरुलाई निरन्तरता, म्याग्दीमा निर्माण हुने जलविद्युत आयोजनाहरुमा जिल्लाबासीले लगानीको अवसर र स्वामित्व पाउने नीतिगत मुद्दामा जोड दिएको बताउनुभयो ।

“बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिसँगै मुस्ताङमा जसरी पर्यटकको ओइरो लागेका छन, त्यो सम्भावना राहुघाट र म्याग्दी कोरिडोरमा पनि छ,” उहाँले भन्नुभयो “म्याग्दी कोरिडोरमा केही रणनीतिक महत्वका आयोजना शुरु गरेका छौ अब हाम्रो प्राथमिकता राहुघाट कोरिडोरको समग्र विकासमा हुनेछ, ।”

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीबाट निर्वाचित प्रदेश सांसदले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा शुरु भएको बेनी–पाखापानी सडकको भुतादैला–तोरीपानी खण्ड सम्पन्न भइसकेको बताउदै दोस्रो चरणमा तोरीपानी–पात्लेखेत–झिँ–पाखापानी खण्डमा बजेट र योजना भित्र्याउन प्रतिनिधीसभा सदस्यमा नेकपाका उमेद्वारले जितेमा सहज हुने बताउनुभयो ।

“प्रदेश तहबाट हामीले सुरु गरेका योजनाहरुलाई निरन्तरता दिनका लागि संघीय प्रतिनिधी पनि हाम्रै हुँदा काम गर्न सजिलो हुन्छ,” उहाँले भन्नुभयो “हामीले गरेका काम र पुरा गरेका प्रतिवद्धतालाई आधार मानेर राहुघाट कोरिडोरका जनताको साथ माग्न आएका हौ।”
भण्डारीले प्रदेशसभाबाट मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने र घरेलु मदिरालाई बैधानिकता दिने कानुन बनिसकेको जानकारी गराउदै गाँजा खेती सम्बन्धी कानुन बनाउने अन्तिम तयारीमा रहेको जानकारी गराउनुभयो । झिँका अगुवा पदम शेरपुञ्जाले नेकपाका जनप्रतिनिधीहरुले पछिल्लो समय प्रदेश तहबाट गरेको कामबाट प्रभावित भएर उहाँहरुलाई साथ दिनका लागि नेकपामा सक्रिय भएको जानकारी दिनुभयो ।










