---Advertisement---

मुदीबाट सुरु भयो महावीरको दोस्रो चरणको चुनावी अभियान

On: February 16, 2026 10:16 PM
Follow Us:

प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्रबाट उम्मेदवार महावीर पुनले दोस्रो चरणको चुनावी अभियान पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीबाट सुरू गर्नुभएको छ । उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि चुनाव चिन्ह सहित झण्डा बोकेर भोट माग्न जाने सोमबारदेखि खुल्ला गरेपछि महावीरले मुदीका विभिन्न बस्तीबाट चुनावी अभियान सुरु गर्नुभएको हो ।


मुदीको अति विकट चेचुङ्ख, खिवाङ र मुदी गाउँमा मतदाता भेटघाट सहित चुनाव केन्द्रित अभियान सञ्चालन गरिएको महावीर पुन चुनाव प्रचारप्रसार समितिका योगकुमार फगामीले बताउनुभयो ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १८ दिन अघिदेखि मात्र चुनावी प्रचारप्रसारका काम गर्न पाइने निर्वाचन आचारसंहितामा उल्लेख गरिएकाले यसअगाडीसम्म घरदैलो गरेपनि चुनाव चिन्ह देखाएर चुनाव प्रचारप्रसा गरिएको थिएन । चुनावी आमसभामा उम्मेदवार महावीरले झुटो आश्वासन दिएर भोट नमाग्ने बताउनुभएको थियो ।

एउटा सानो टिम बनाएर चुनावी प्रचारप्रसारमा पश्चिम म्याग्दीका विभिन्न बस्तीमा पुगेका पुनले चुनाव अगाडी कुनै प्रतिबद्धता नजनाउने बताउँदै आफ्नो काम हेरेर भोट दिन अनुरोध गर्नुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा शिक्षा क्षेत्रको सुधारलाई पहिलो चुनावी मुद्धा बनाउनुभएको छ ।


आफ्ना सहयोगी र शुभेच्छुकहरुको साथमा मतदाताहरुलाई भेटेर उम्मेदवार डा. पुनले आफ्ना कुरा सुनाउँदै ‘चित्त बुझे र मन लागे मलाई भोट देऊ,नभए नदेऊ’ भन्दै ठट्यौली शैलीमा मत मागिरहनुभएको छ । शिक्षा,अनुसन्धान,नवप्रवद्र्धन,रोजगारी,अर्थतन्त्र र विकासका साथै युवाहरुसँग सहकार्य गर्ने योजना बनाएका उम्मेदवार पुनको रोजगार र उद्यमसँग जोडेर देशको अर्थतन्त्र सुधार गरी विकासका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

“मलाई भोट दिन दबाब छैन, मन लागे दिनुहोस्, नलागे नदिनुहोस् । तर भोट बेचेर गल्ती नगर्नुहोस्’’ पुनले हरेक बस्तीमा पुगेर एउटै किसिमको भाषणबाट आफ्नो उम्मेदवारीलाई प्रष्टाउनुभएको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले जीवनी बेचेर कारखाना चलाउने गरेको बताउँदै एक रुपैयाँ पनि भ्रष्टचार नगरेको र भ्रष्टचार गर्नेहरुसँग संगत समेत नगर्ने बताउनुभयो ।

Leave a Comment