म्याग्दीमा मतदाता शिक्षाका लागि स्वंयमसेवक घरदैलोमा जान थालेका छन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदातालाई आर्कषित गर्न तथा बदर मत घटाउने उद्देश्यले जिल्लाको ६ वटा स्थानीय तहका ४५ वटै वडाका मतदाताको घरदैलोमा पुग्ने गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले स्थानीय तहका निर्वाचन सम्पर्क ब्यक्तिलाई मतदाता शिक्षा अनुगमनकर्ता अभिमुखीकरण तालिम प्रदान गरी स्वंयमसेवकलाई पालिकास्तरमै तालिम सञ्चालन गरेपश्चात मतदाता शिक्षाका लागि बस्ती तथा घरदैलामा खटाइएको बताए ।

आगामी फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका,बालविकास सहजकर्ता,सामुदायिक सेवा केन्द्रका परिचालक लगायत विगतमा समेत काम गरेकालाई अवसर दिइएको निर्वाचन अधिकारी गौतमको भनाई छ । मतदाता शिक्षाका लागि खटिएका स्वंमसेवकको कार्यसम्पादनका बारेमा समेत अनुगमन गरिने छ । बेनी नगरपालिका–९, की मतदाता स्वंयमसेवक पवित्रा सुबेदीले मतपत्रमा स्वस्तिक छाप लगाउने, मत बदर नहुने गरी पट्याएर मतपेटिकामा राख्ने लगायतका विधि सिकाउने बताइन् ।
मतदाता शिक्षा सञ्चालन गरेपनि प्रभावकारी अनुगमन नहुदाँ विगतमा म्याग्दीमा मतदाता शिक्षामा लगानी, ‘बालुवामा पानी’ हालेजस्तै भएको छ । बि.स २०७९ सालमा सम्पन्न भएको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४९ हजार छ ९९ मत खसेकामा ४७ हजार छ सय १४ सदर र दुई हजार ८५ अथवा चार दशमलव ३७ प्रतिशत बदर भएको थियो भने प्रतिनिधिसभाको समानुपातिकमा ५० हजार तीन सय ७८ मत खसेकामा ४७ हजार तीन सय ३२ मत सदर र दुई हजार छ सय ४६ अथवा ५.५९ प्रतिशत बदर भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।










