---Advertisement---

‘वर्षौदेखि भोट हाल्दै आयौँ, तर चाहेको विकास पाएनौँ’

On: February 18, 2026 7:41 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका ४ मा पर्ने थामडाँडा गुरुङ वस्ती भएको र सदरमुकाम बेनी बजारदेखि नजिकैरहेको गाउँ हो । सोही गाउँमा बस्नुहुन्छ ८८ वर्षिय जगतबहादुर गुरुङ । गुरुङले विगत ६५ वर्षदेखि विभिन्न व्यक्ति र पार्टीहरुलाई भोटहाल्दै आउनुभएको छ । उहाँको गुनासो छ,“यतिका वर्षदेखि भोट हाल्दै आएँ,न गतिलो बाटोघाटो पाएँ,न पुल पुलेसा,न खानेपानी र सिंचाइको व्यवस्था । खै अब त भोट पनि किन हाल्ने हो र ?”

सोही गाउँकी ८६ वर्षिया सतदेबी गुरुङ भन्नुहुन्छ,“छोरा नाति हुर्किए पछि विदेश जानुपर्छ, न देशमा काम पाइन्छ र न पौरख गरेर उत्पादन गरेको फलफूल अन्नपातको राम्रो पैसो पर्छ,सिंगा जान पुल छैन,बजार जान गतिलो मोटरबाटो छैन । चुनावको बेला को को आउँछन्,यो गर्छु र त्यो गर्छु भनेर भोट माग्छन् । जितेपछि नाक मुखै देखाउँदैनन् ।”

बेनी नगरपालिका २ बगरफाँटका ९२ वर्षिय बेदप्रसाद उपाध्यायले पनि भोट दिँदादिँदा थाकिसकेको तर नेताहरुले भनेजस्तो अझै नभएको बताउनुहुन्छ । उपाध्याय भन्नुहुन्छ,“पहिलाको तुलनामा विकास र सुविधा हुँदै नभएको त होइन,तर भनेजस्तो र जनताले चाहेजस्तो अझै हुन सकेको छैन ।”

म्याग्दीका जेष्ठ नागरिक मतदाताहरुका यी प्रतिनिधिमूलक भनाइले दशकौँदेखि विभिन्न पार्टीका उम्मेदवारहरुलाई भोट हाल्दै आएको तर आफूले चाहेको विकास अझैसम्म पनि नदेखिएको गुनासो अभिव्यक्त गरेका छन् । चुनाव प्रचारका क्रममा गाउँगाउँ पुगेका उम्मेदवार तथा नेताहरुसँग भेट हुँदा उनीहरुले खुलेर असन्तुष्टि व्यक्त गरेका हुन् ।

जेष्ठ मतदाताहरुले भने, “हामीले जीवनभर भोट हाल्यौं, तर सडक, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सुविधा अझै पनि अपूरा छन् । भोट हाल्दाहाल्दै बुढा भयौं तर विकास भने देख्न पाएनौं ।”

उनीहरुले विशेषगरी ग्रामीण भेगमा अझै पनि यातायात, खानेपानी, स्वास्थ्य सेवा र रोजगारीको अवसर अभाव रहेको उल्लेख गर्दै नेताहरुलाई प्रश्न गरेका छन् । “हामीलाई चुनावमा सम्झिन्छन्, तर चुनाव सकिएपछि हाम्रो आवाज हराउँछ,”मंगला गाउँपालिका ५ का ७६ वर्षिय हरिकृष्ण पौडेलले भन्नुभयो ।

चुनाव प्रचारका क्रममा उम्मेदवारहरुले भने आगामी दिनमा विकासका कामलाई प्राथमिकता दिने आश्वासन दिएका छन् । उनीहरुले सडक विस्तार,रोजगारी,पर्यटन, स्वास्थ्य चौकी सुदृढीकरण, शिक्षा सुधार र कृषि क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । तर, जेष्ठ नागरिकहरु भने यस्ता आश्वासन विगतमा पनि धेरै पटक सुनेको तर व्यवहारमा नदेखिएको भन्दै शंका व्यक्त गरेका छन् ।

म्याग्दीका ग्रामीण क्षेत्रका जेष्ठ मतदाताहरुको गुनासोले स्थानीय विकासको वास्तविक अवस्था उजागर गरेको छ । दशकौँदेखि लोकतान्त्रिक अभ्यासमा सक्रिय रहँदै आएका उनीहरुले अब ठोस काम देख्न चाहेको स्पष्ट सन्देश दिएका बुद्धिजीवि यादव रिजालले बताउनुभयो ।
चुनावी माहोल चर्किँदै गर्दा जेष्ठ मतदाताहरुको आवाजले उम्मेदवारहरुलाई चुनौती दिएको छ— भोट मात्र होइन, अब परिणाम देखाउनुपर्ने समय आएको छ ।

मालिका गाउँपालिका २ रुमका ७९ वर्षिय टेकबहादुर विक भन्नुहुन्छ “हामीले जीवनभर भोट हाल्यौं । सडक अझै अधुरा छन्, अस्पतालमा औषधि छैन, छोराछोरी रोजगारीको खोजीमा विदेश जानुपरेको छ । भोट हाल्दाहाल्दै बुढा भयौं तर विकास भने देख्न पाएनौं ।”
त्यस्तै, ७० वर्षीया जमुना थापा भन्नुहुन्छ “चुनाव आउँदा नेताहरु ढोग्छन्, हात समात्छन्, आशीर्वाद माग्छन् । तर चुनाव सकिएपछि हाम्रो गाउँमा फर्केर हेर्ने कोही हुँदैन ।”

म्याग्दीमा उम्मेदवारहरुले रोजगारी, प्रविधि, शिक्षा र स्वास्थ्यलाई मुख्य एजेन्डा बनाएका छन् । जनभेटघाटमा उनीहरुले वृद्धवृद्धासँग आशीर्वाद लिने, हात समातेर केही पाइला हिँड्ने, परिवारको हालखबर सोध्ने जस्ता आत्मीय व्यवहार देखाइरहेका छन् । तर मतदाताहरुले यस्ता व्यवहारलाई चुनावी रणनीति मात्र ठानेका छन् ।

उम्मेदवारहरुले ग्रामीण सडक विस्तार, स्वास्थ्य चौकी सुदृढीकरण, शिक्षा सुधार र कृषि क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । तर जेष्ठ नागरिकहरु विगतमा पनि यस्ता आश्वासन धेरै पटक सुनेको तर व्यवहारमा नदेखिएको भन्दै शंका व्यक्त गरिरहेका छन् । जेष्ठ मतदाताहरुले अब ठोस काम देख्न चाहेको स्पष्ट सन्देश दिएका छन् । उनीहरुको भनाइमा, “हामीलाई भोट माग्न आउनुहोस्, तर चुनाव सकिएपछि पनि हाम्रो गाउँमा फर्केर हेर्नुहोस् । हामीलाई आधारभूत सुविधा दिनुहोस् ।”

उम्मेदवारका प्रतिवद्धता

जेष्ठ मतदाताहरुका यी गुनासाहरुलाई उम्मेदवारहरुले पनि गम्भीररुपमा लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले जेष्ठनागरिकहरुको चाहना पुरा गर्नेगरी काम गर्ने बताउनुभयो । जनताले खोजेको सुशासन,रोजगारी र भ्रष्टाचारको अन्त्य नै आफ्नो मुख्य एजेन्डा भएको बताउनुभयो । उहाँले भन्नुभयो “उहाँहरुको गुनासोलाई म आत्मसाथगर्दै विभाजनको राजनीति होइन, सबैलाई समेट्ने विकासको बाटोमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु । मतदाताको विश्वासलाई कामबाटै प्रमाणित गर्छु ।”

त्यस्तै नेकपा (एमाले) का उम्मेदवारका हरिकृष्ण श्रेष्ठले नेकपा एमाले जनताको सुख दुःखमा सधैंभरी जनतासँगै रहेको बताउँदै जनताको चाहना अनुसार नै आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “समाजलाई विभाजन गर्ने भाषाशैली होइन, जनताको पक्षमा उभिने राजनीति आवश्यक छ । गरिब, किसान र युवाका मुद्दा संसदमा बलियो रूपमा उठाउनेछौँ ।”

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अर्जुनबहादुर थापाले “म्याग्दीमा अधुरा विकास योजना पूरा गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभयो । उहाँले भन्नुभयो “आश्वासन होइन, स्पष्ट योजना र समयसीमासहित काम गरेर देखाउने हाम्रो लक्ष्य छ ।”

त्यस्तै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीबाट राजिनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बन्नुभएका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै भन्नुभयो “जनताले पुरानो शैली अस्वीकार गरिसकेका छन् । पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काम नै मेरो पहिचान हुनेछ ।”

एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । राजनीतिक दल र स्वतन्त्रका गरी १२ जना उम्मेदवार रहेका छन् ।

Leave a Comment