---Advertisement---

अन्नपूर्णबाट करिब ४ करोड मूल्य बराबरको सुन्तला बिक्री

On: February 18, 2026 6:16 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण संकलन गरेको हो । कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट रु तीन करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिइन् ।

वडा नम्बर १ दोवामा रु ७० लाख, वडा नम्बर २ भुरुङ–तातोपानीमा रु ३९ लाख, वडा नम्बर ३ दानामा रु २१ लाख, वडा नम्बर ४ नारच्याङमा रु १० लाख, वडा नम्बर ६ घारमा रु ६० लाख र वडा नम्बर ७ हिस्तान दोसल्ले र औलामा रु एक करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको उनले बताइन् ।

दुई सय जनाभन्दा बढी किसानले न्यूनतम रु ५० हजारदेखि रु २० लाख मूल्यबराबरको सुन्तला बिक्री गरेका छन् । सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले रु २० लाखको सुन्तला बिक्री गरेका छन् ।

अन्नपूर्णका किसानले म्याग्दीमा सबैभन्दा पछि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए । फागुन २ गतेसम्म सुन्तला टिपेर बजार पठाएका हुन् । गत वर्षको तुलनामा ४० प्रतिशत कम उत्पादन भए पनि दोब्बर मूल्य पाउँदा आम्दानी बढेको दोसल्लेका किसान श्रेष्ठले बताए ।

दोसल्लेका किसानले प्रतिकिलोग्राम रु २०० सम्म सुन्तलाको मूल्य हात पारेका छन् । सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो । यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताइन् ।

Leave a Comment