यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई साता बाँकी रहँदा म्याग्दीका उम्मेदवार डा. महाविर पुनले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।
पाँच गाउँपालिका र एक नगरपालिका रहेको यस निर्वाचन क्षेत्रमा कुल मतदाता संख्या ८६ हजार तीन सय ९७ रहेकोमा महिला मतदाता नै बढी छन्। यसमा ४४ हजार ६४ महिला, ४२ हजार तीन सय ३२ पुरुष मतदाता रहेको यस क्षेत्रमा महाविर स्वतन्त्र उम्मेदवार बनेका छन् । ७२ वर्षीय पुन त्रिभुज चुनाव चिह्नसहित गाउँपालिकाका मतदाताकहाँ पुगेर मत मागिरहेका छन्।
आफूले अहिल्यै मतदातालाई कुनै आश्वासन नदिएको र जिते पनि आफ्नै क्षेत्रको शिक्षा, स्वास्थ्यलगायत विज्ञान तथा प्रविधि र विकासका क्षेत्रमा काम गर्ने उनी बताउँछन्। ‘मत माग्दा जुन उम्मेदवार इमानदार र काम गर्नेछन्, तिनैलाई मतदान गर्न मतदातासँग आग्रह गरेको छु’, पुनले नागरिकसँग भने, ‘मैले आफ्ना मतदातालाई ठूला आश्वासन दिएको छैन। मतदाताको छलफलबाट उहाँहरूको आवश्यकता बुझ्ने काम गरिरहेको छु।’
निर्वाचनमा जितेपछि पालिकाका प्रतिनिधिसँग छलफल गरेर उहाँहरूको मागअनुसार म्याग्दी बनाउने काम गर्ने उनको भनाइ छ।
उनले युवा र नयाँ पार्टीहरूलाई एउटै मोर्चा बनाएर लाग्दा देशको हित हुने विश्वास व्यक्त गरेका छन्। ‘आपसमा खुट्टा तानातान गरेर कसैको राम्रो हुँदैन’, उनले अनुरोध गरे, ‘नयाँ पार्टी र युवालाई चुनावमा मिलेर सक्रिय भएर लाग्न म अनुरोध गर्दछु। खुट्टा तानातान गर्दा देश पछाडि पर्छ।’
आफू म्याग्दी जिल्लाकै स्थानीय भएकाले यस क्षेत्रकै विकास गर्न उम्मेदवार भएको उनले दाबी गरे। ‘यसपटकको प्रतिनिधिसभा निर्वाचन विशेष किसिम हो’, उनले मतदातालाई स्पष्ट पारे, ‘यो त साँच्चिकै देश बनाउने चुनाव पो हो। हामीले युवा र नयाँलाई छान्न नसके देशले दुःख पाउँछ। आपसमा झगडा र खुट्टा तानातान गर्दा फेरि पुरानैको रजगज हुन जान्छ।’
डा. पुनले देशको मुख्य मुद्दा अर्थतन्त्र सुधार रहेकाले यसका लागि विज्ञान, प्रविधि, नवप्रवर्तन र कलकारखाना सुधार गर्दै तिनको स्थायित्वका लागि काम गर्नुपर्ने जनाए। ‘मतदान कसैको करकापमा गर्ने होइन। आफ्नो दिमाग प्रयोग गरेर राम्रो काम गर्नेलाई मतदान गर्नुपर्छ’, उनले भने, ‘म मन्त्री र सासंद बन्छु भन्ने कुरा मलाई थाहा थिएन, भगवान्लाई थाहा थियो। म प्रधानमन्त्री बन्छु कि बन्दिनँ थाहा छैन। यदि प्रधानमन्त्री बने भने पनि डराउँदिनँ। देशको समग्र विकासका लागि डटेर काम गर्छु।’
वीरगञ्जस्थित कृषि औजार काराखाना चलाइदिएर सरकारलाई सहयोग गरेको उनले दाबी गरे। ‘सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्म ५२६ दिन अर्थात् १८ महिना किताब बेचें। यसबाट १२ करोड नाफा भयो’, उनले भने, ‘यही पैसाले कारखाना चलाएँ आफ्नो आत्मकथा किताब बेचेर। समाजसेवा गर्नेलाई जबर्जस्ती मन्त्री बनाइदिए।’
एउटै मात्र संसदीय क्षेत्र भएको यस जिल्लामा डा. पुनसहित ११ उम्मेदवार छन्। कांग्रेसबाट कर्णबहादुर भण्डारी, एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टी (एकीकृत) का अर्जुनबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका चेमबहादुर विश्वकर्मा, मंगोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा, नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उम्मेदवार बनेका युवराज रोक्काबिच कडा प्रतिस्पर्धा छ। nagariknews.com










