---Advertisement---

म्याग्दीका ७९ मतदानस्थल अनुगमन

On: February 21, 2026 10:53 AM
Follow Us:


फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका म्याग्दीका ७९ मतदान केन्द्रको अनुगमन तथा निरीक्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा जिल्लाभर ८२ मतदानस्थलमा रहेका १ सय २० केन्द्रमध्ये ७९ केन्द्रमा पुगेर अनुगमन गरिएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–१, दोबा, वडा नं ५ शिख बाहेक सबै वडामा रहेका मतदान केन्द्रको अनुगमन तथा भौतिक अवस्थाको निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।


मतदान केन्द्र तथा स्थलको अनुगमनमा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी आचार्य सहित सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतम लगायत सुरक्षा अधिकारीको टोलीले मतदानस्थलको अनुगमन तथा निरीक्षण गरेको हो । बाँकी रहेका ग्रामिण क्षेत्रका मतदानस्थलमा रहेका केन्द्रको समेत अनुगमनसँगै निर्वाचनको तयारी भइरहेको छ । मतदानस्थलको भौतिक पूर्वाधार,सडक,खानेपानी,शौचालय,घेराबार,विद्युत लगायतको अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गरिएकोमा आवश्यकता परेका पूर्वाधार थप गर्न समेत निर्देशन दिइएको छ ।


निर्वाचनलाई शान्तिपूर्ण,सुव्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदानस्थलको भौतिक पूर्वाधार र सुरक्षाका विविध पक्षमा अनुगमनसँगै स्थानीय जनप्रतिनिधि सहितका सरोकारवाला निकायसँग समेत छलफल गरिएको छ । सबै मतदानस्थलको अनुगमन सकेपछि सुधार गर्नुपर्ने देखिएका मतदानस्थलको तत्काल सुधारको काम पनि थाल्ने योजना बनाइएको छ।

जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य वर्गमा विभाजन गरेको छ । १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र आठवटा सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् ।

४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी(केबी),नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ,नेकपाबाट अर्जुन थापा, स्वतन्त्रबाट महावीर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे चुनावी मैदानमा छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट देवेन्द्र कामी,मङ्गोल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट विनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक, नेशनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा चुनावी मैदानमा छन् ।

Leave a Comment