---Advertisement---

म्याग्दीमा बदलियो चुनाव प्रचार शैली : घरदैलो र डिजिटल प्रयोगमा जोड

On: February 21, 2026 10:04 PM
Follow Us:

ध्रुवसागर शर्मा

म्याग्दीका राजनीतिक दल र उम्मेदवारहरुले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुराना चुनावी शैली परिवर्तन गरेका छन् ।
विगतका निर्वाचनहरुमा भित्तामा टाँसिने ठुला ठुला पोस्टर–पम्प्लेटहरु र ठुला चनावी सभाहरु भन्दा पनि उम्मेदवारहरुले टोल–बस्तीमा पुगेर मतदाताहरुसँग छलफल, घरदैलो र साना कार्यक्रम सञ्चालन गर्दै सामाजिक सञ्जालमार्फत प्रचारलाई प्राथमिकता दिएका छन्। डिजिटल सामग्रीको व्यापक प्रयोग गरिएको छ ।


विगतका उम्मेदवारसँगै नेता र कार्यकर्ताहरुले सिमित ठाउँमा ठुला सभा गर्ने परम्परा यसपटक तोडिएको छ । उम्मेदवारहरूले घरदैलो र प्रत्यक्ष भेटघाटमा बढी जोड दिएका छन् । नेता र कार्यकर्ताहलाई आआफ्नो पालिकामा चुनाव प्रचार गर्ने जिम्मा दिइएको छ । उनीहरुले मतदातासँग प्रत्यक्ष भेटघात गर्ने र सामाजिक सञ्जालमार्फत आफ्नो पार्टी र उम्मेदवारको प्रचार गरिरहेका छन् ।

क्यामेराम्यानसहित फेसबुक, टिकटक, युट्युबमा दैनिक भिडियो सामग्री बनाएर पोस्ट गर्ने, प्रत्यक्ष प्रसारण गर्ने शैली अपनाइएको छ । त्यतिमात्र होइन स्वतन्त्र उम्मेदवार महावीर पुनले त टोल टोलमा घुम्दै हाते माइक मार्फत जनतालाई कटुवाल शैलिमा ‘लौ है जनता हो ! महावीर आयो’ भन्दै आफ्ना कुरा सुनाउने शैली यहाँका मतदाताहरुलाइृ निकै रोचक बनेको छ । प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार थोरै मात्र नेता कार्यकताको साथमा गाउँ गाउँमा पुगेर टोलसभा गर्ने, मतदाताहरुलाई प्रत्यक्ष घेट्ने गरिरहेका छन् ।


नेपाली कांग्रेस म्याग्दीका चुनाव प्रचार प्रसार समितिका सदस्य निर्मल खत्रीले विगतका निर्वाचनमा गाउँ–गाउँमा वितरण गरिने र भित्तामा टाँसिने पोस्टर र पम्प्लेटको ठाउँमा सपटक सामाजिक सञ्जालमार्फत भिडियो सन्देश, प्रत्यक्ष प्रसारण र डिजिटल सामग्रीमार्फत मतदातासँग जोडिने प्रयास गरिएको बताउनुभयो ।


नेपाली कांग्रेसका उम्मेदवार कर्णवहादुर भण्डारीको सचिवालयले डिजिटल प्रचारप्रसालाई प्राथमिकता दिएको खत्रीको भनाइ छ । अन्य दलहरू पनि डिजिटल प्रयोगमा नै विशेष सक्रिय भएका छन् भने प्रचार सामग्री व्यवसायीको माग पनि कम देखिन्छ ।


नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ समानुपातिक उम्मेदवार नरदेवि पुन र एमाले म्याग्दीका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी सहितको टोली मतदाताको घरदैलोमा सक्रिय छन् । श्रेष्ठको सचिवालयले सदरमुकाम बेनीबजारबाट डिजिटल सामग्री उत्पादन गरी सामाजिक सञ्जालमा प्रचार गरिरहेको छ । युवा नेता प्रकाश पौडेलका अनुसार, एमालेले विगतमा गरेका विकास कार्य र उम्मेदवारका प्रतिबद्धताहरू मतदातासम्म पु¥याउन भिडियो, गीत, टिकटक र पोडकास्टमार्फत प्रचार गरिरहेको छ ।


त्यस्तै गरी स्वतन्त्र उम्मेदवार महावीर पुनको सानो टिम गाउँ वस्ती पुग्दै मतदाताहरु भेटेर आफ्नो पक्षमा जनमत ल्याउने कसरतमा व्यस्त छ । स्वतन्त्र उम्मेदवार पुनको एउटा समूह पनि पोष्टकार्ड, रिल र भिडियो सामग्री मार्फत डिजिटल प्रचारमा सक्रिय छ । पुनलाई देश विदेशमा रहेका शुभचिन्तकहरुले साथ दिइरहेका छन् । उहाँको प्रचारका लागि डिजिटल सामग्रीहरु देश बाहिरबाटसमेत निर्माण भएर सामाजिक सञ्जालमा छरपष्ट हुने गरेका छन् । पुनका सहयोगी चित्र तिलिजाले निर्वाचन प्रचारप्रसारका लागि मतदातासँग प्रत्यक्ष भेटघाट र डिजिटल प्रविधिको भरपुर प्रयोग गरिएको बताउनुभयो ।


त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाको सचिवालयले पनि डिजिटल प्रचारलाई प्राथमिकता दिएको छ । भेटघाट, प्रत्यक्ष संवाद र मतदाताका प्रतिक्रियालाई फेसबुकमा लाइभ गर्दै प्रचार प्रसारलाई तिब्रता दिइएको नेकपाका नेता गोविन्द पौडेलले जानकारी दिनुभएको छ । त्यसैगरी राष्टिय प्रजातन्त्र पार्टीका डम्वर सुवेदी,राष्टिय जनमोर्चाका छेमबहादुर (छवि) विश्वकर्मा नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (धु्रव) लगायतका उम्मेदवारले पनि सामाजिक सञ्जालमा सक्रिय प्रचार गरिरहेका छन् ।


निर्वाचनको मिति नजिकिदै जाँदा डिजिटल प्रविधिको प्रयोग गरी प्रचार कार्य बढेसँगै साइबर सुरक्षा चुनौती पनि बढ्दै गएको छ । उम्मेदवारको सामग्रीमा अर्का समर्थकहरूले गाली–गलौज र नकारात्मक टिप्पणी गर्दा द्वन्द्व बढेको देखिएको छ । निर्वाचन आयोगले यस पटक नेपाली सेनालाई अनुगमन जिम्मा दिएको छ भने प्रहरी र प्रशासनले पनि निगरानी बढाएका छन् । सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडाइका साथ व्यवस्था गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नयाँ उम्मेदवारको उपस्थिति,दलीय राजनीतिको बिचमा स्वतन्त्र उम्मेदवारको बलियो प्रस्तुती र बदलिँदो प्रचार शैलीले यसपटकको म्याग्दीको निर्वाचनलाई अझ रोचक बनाएको स्थानीय बुद्धिजिवी एवम् माउन्ट एभरेष्ट आवासीय माविका प्राचार्य राजु केसीले बताउनुभयो ।
एक निर्वाचन क्षेत्र,छ पालिका र ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचनका लागि कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । जसमध्ये अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ । एक स्वतन्त्र र ११ राजनीतिक पार्टीका गरी यहाँ १२ जना उम्मेदवारहरुको बिचमा चुनावी प्रतिष्पर्धा हुँदै छ ।

सबै उम्मेदवारहरुले राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर कालोपत्रे गर्ने, अन्य सडक निमार्ण, खानेपानी, शिक्षा, कृषि क्षेत्रको प्रवद्र्धन, सुलभ स्वास्थ्य सेवा, रोजगारीलगायतका मुद्दालाई प्राथमिकतामा राखेका छन् ।


यस पटक झै यी मुद्धाहरु हरेकपटकको निर्वाचनमा उठाउने गरे पनि आपूmले अनुभूत गर्नेगरी कुनै परिवर्तन नदेखेका मतदाता अब उम्मेदवारसँग जवाफ माग्ने निर्णयमा पुगेका छन् । यहाँ पहिलो पटक मतदान गर्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका मतदाताको संख्या उल्लेख्य छ ।


समग्रमा, म्याग्दीका मतदाताले आगामी निर्वाचनमार्फत स्पष्ट सन्देश दिन खोजेका छन् । मतदाता भन्छन् ‘आश्वासन होइन, काम चाहिन्छ । विभाजन होइन, एकता चाहिन्छ ।’

Leave a Comment