म्याग्दीको बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविमा आइतबार सूर्यज्योति माउण्ट हाजिरी जवाफ प्रतियोगिता र अभिभावक अभिमुखीकरण तथा सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजना र सूर्यज्योति जीवन विमा कम्पनीको प्रायोजनमा सम्पन्न अन्तर मावि स्तरीय माध्यमिक शिक्षा परीक्षा (एसइई) लक्षित हाजिरी जवाफ प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरी नगद रु १० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी द्धितीय हुन सफल न्यू वेष्ट प्वाइन्ट आवासीय माविले नगद रु ६ हजार र तृतीय स्थान प्राप्त गरेको गलेश्वर आदर्श वोर्डिङ स्कुलले नगद रु ३ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । हाजिरी जवाफ प्रतियोगितामा जिल्लाका विभिन्न दशवटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।
कार्यक्रममा प्रथम,द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक राजु केसी,शिक्षक सुरेन्द्र थापा,सूर्यज्योति जीवन विमा कम्पनिका प्रतिनिधि दीपक सापकोटा र अनुरोध रिजालले पुरस्कार वितरण गर्नुभएको थियो ।
सूर्यज्योति जीवन विमा कम्पनिले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दश वर्षसम्म प्रत्येक वर्ष कक्षा ५,कक्षा ८ र कक्षा ११ मा उत्कृष्ट परिणाम ल्याउने माउण्ट एभरेष्ट आमाविका विद्यार्थीलाई जनही रु ५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराउने भएको छ । यसै गरी शैक्षिक उन्नयन कार्यक्रम अन्तर्गत हरेक वर्ष एसइई दिने विद्यार्थीहरुलाई लक्षित गरेर एसइईमा सोधिने शैलीका प्रश्नहरुको जिल्ला स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने पनि सम्झौता भएको छ ।
सोही कुराको जानकारी गराउन तथा अभिभावकहरुलाई विमाको महत्व वुझाउन आइतबार बाल कक्षादेखि कक्षा ५ सम्मका अभिभावकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित अभिभावकहरुलाई अनुरोध रिजाल,दीपक सापकोटा लगाएतले जीवन विमाको महत्वको वारेमा बुझाउनुभएको थियो ।
लगानी विविधिकरणको रणनीतिलाई अपनाउदै आएको नेपालकै सर्वाधिक विश्वासिलो सूर्यज्योति विमा कम्पनिले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधिनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको र लगानी विविधिकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको विमा कम्पनिका प्रतिनिधि रिजालले बताउनुभयो ।
उहाँका अनुसार शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्र प्रति योगदान पुग्न जाने र यस कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको हो । आफ्नो गृह जिल्लामा आफूले अध्ययन अध्यापन गरेको विद्यालय भएकोले माउण्ट एभरेष्ट नै छनोट गरेको उहाँको भनाइ छ ।










