---Advertisement---

साङ्ता गाउँ जाने मतदातालाई हिउँले छेक्यो

On: February 23, 2026 12:56 PM
Follow Us:

प्रतिनिधिसभा सदस्य छान्न यही फागुन २१ गते मतदान हुँदै छ । मतदानका निम्ति अब १० दिन मात्र बाँकी छ ।

तर, मुस्ताङको एउटा गाउँ सुनसान छ । चिसो छल्न काठमाडौं गएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँका स्थानीय बासिन्दा घर जाने सडकमा बाक्लो हिउँ जमेपछि रोकिएका छन् ।

कठ्यांग्रिदो चिसोसँगै स्थानीयले कात्तिकमा गाउँ छाडेका थिए । हिउँले सडक पुरिएका कारण फागुनको दोस्रो सातासम्म स्थानीय बेँसीमा बसेका छन् ।

छिमेकी जिल्ला डोल्पा जोड्ने सडकको सिमानामा समुद्री सतहदेखि तीन हजार ८०० मिटर उचाइमा अवस्थित छ, साङ्ता गाउँ । जिल्लाभित्र निर्वाचनको माहोल ह्वात्तै बढे पनि यो गाउँ सुनसान छ । 

हिमपातका कारण त्यहाँ मतदानस्थलको अनुगमन, मतदाता शिक्षासहित अरू कार्य हुन सकेको छैन । जिल्लामा ३९ मतदानस्थल कायम छ । तीमध्ये उपल्लो मुस्ताङका दुई मतदानस्थल र साङ्ताको अनुगमन हुन सकेको छैन ।

यो गाउँमा १३ घरधुरीमा कुल ७० जनसंख्या छ । उनीहरूमध्ये आधारभूत विद्यालय मतदान केन्द्रमा ३९ मतदाता छन् ।

वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले हिउँले मतदाता रोकिएका बताए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले स्थानीयलाई गाउँ फर्कन सहज हुने गरी हिउँ पन्छाउने तयारी भइरहेको बताइन् । हिउँ पन्छाउन डिभिजन सडक कार्यालय बागलुङ र गाउँपालिकासँग सहयोग मागिएको उनले जानकारी दिइन् ।

Leave a Comment