ध्रुवसागर शर्मा
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा म्याग्दीका ११ राजनीतिक दलका र एकजना स्वतन्त्र गरी १२ जना उम्मेदवार गाउँवस्ती र घरदैलोमा मतदातासँग भोट माग्न ब्यस्त छन् ।
म्याग्दीमा अहिले चुनावी सरगर्मी बढ्दै गएको छ । यतिबेला सबै उम्मेदवारहरु गाउँ बस्ती तथा घरदैलोमा पुगेर आफनो पक्षमा भोट मागि रहेका छन । उम्मेदवारहरू भौतिक रूपमा मतदातासँग नजिकिएका त छन् नै सामाजिक सञ्जालमा आफू र आफनो प्रतिबद्धतालाई प्रचार गर्ने गरिरहेका छन् ।
उम्मेदवारको प्रचारप्रसारसँगै मतदाता यस पटक दल भन्दा पनि उम्मेदबारको ब्यक्तित्ब, क्षमता र भ्ष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्न सदन तथा नीति निर्माण तहमा बलियो भूमिका खेल्न सक्ने उम्मेदवार छान्ने बताउँछन ।
यसपटक चुनिने जनप्रतिनिधि कानून र विधि निर्माता भए पनि भौतिक पूर्वाधार र जनजीविकाका सवाल सम्बोधन नभएकै कारण मतदाताहरु भौतारीदै गरेको अवस्थामा राम्रा उम्मेदवार खोज्न बाध्य बनेको माउण्ट एभरेष्ट आवासीय माविका प्राचार्य राजु केसी बताउनुहुन्छ ।
दलका उम्मेदवारहरुले राजनीतिक संगठन नै प्रयोग गरेर घरदैलो गरिरहेका छ्न् । स्वतन्त्र उम्मेदवार महावीर पुन भने आफ्ना शुभचिन्तकहरुको साथमा गाउँका वस्ती वस्तीमा पुगेर भोट मागिरहनुभएको छ ।
एक नगरपालिका र पाँचवटा गाउँ पालिका रहेको म्याग्दीमा अहिले राजनीतिक दलको चुनावी अभियान तीव्र बनेको छ । उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर आफू र आफ्नो पार्टीलाई मतदान गर्न अनुरोध गर्दै विकास र समृद्धिका एजेण्डा प्रस्तुत गरिरहेका छन् । घरदैलोका क्रममा मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्दै आगामी दिनमा क्षेत्रको समग्र विकासका लागि प्रतिबद्धता व्यक्त गरिएको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक जना स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका गरी १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नेकपा(एमाले)बाट हरिकृष्ण श्रेष्ठ,नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्जुनबहादुर थापा उम्मेदवार रहेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डम्वरबहादुर सुवेदी चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै,राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक,श्रम संस्कृति पार्टीबाट विनोद राना,नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे,मंगल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देबेन्द्र कामी,नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट महावीर पुन चुनावी प्रतिष्पर्धामा छन् ।
मतदातासँग उम्मेदवारका प्रतिवद्धता
भोट माग्ने क्रममा मतदातासँग उम्मेदवारहरुले प्रतिवद्धता समेत व्यक्त गर्ने गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले जनताले खोजेको सुशासन,रोजगारी र भ्रष्टाचारको अन्त्य नै आफ्नो मुख्य एजेन्डा भएको बताउनुभयो । उहाँले भन्नुभयो “विभाजनको राजनीति होइन, सबैलाई समेट्ने विकासको बाटोमा हामी प्रतिबद्ध छौँ । मतदाताको विश्वासलाई कामबाटै प्रमाणित गर्छौँ ।”
त्यस्तै नेकपा (एमाले) का उम्मेदवारका हरिकृष्ण श्रेष्ठले नेकपा एमाले जनताको सुख दुःखमा सधैंभरी जनतासँगै रहेको बताउँदै जनताको चाहना अनुसार नै आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “समाजलाई विभाजन गर्ने होइन, जनताको पक्षमा उभिने राजनीति आवश्यक छ । गरिब, किसान र युवाका मुद्दा संसदमा बलियो रूपमा उठाउनेछौँ ।”
त्यस्तै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीबाट राजिनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बन्नुभएका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै भन्नुभयो “जनताले पुरानो शैली अस्वीकार गरिसकेका छन् । पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काम नै मेरो पहिचान हुनेछ ।” अन्य राजनीतिक दलका उम्मेदवारहरुले पनि स्थानीय समस्या समाधान र जनपक्षीय कानुन निर्माणलाई प्राथमिकता दिने मतदातासँग प्रतिवद्धता व्यक्त गरेका छन् ।
यहाँका स्थानीय उम्मेदवारहरुप्रति यहाँका मतदाता सकारात्मक नै रहेका स्वतन्त्र बृद्धिजिवी यादव रिजाले बताउनुभयो । “उम्मेदवारहरुले मतदाता भेटघाटका क्रममा देखाएको व्यवहारले पनि यहाँका उम्मेदवारहरुप्रति मतदाताका खासै गुनासा छैनन् । चिनेजानेका आइखेलेका उम्मेदवार नै भए पनि जनपक्षीय कानुन निर्माण र स्थानीय समस्या समाधान गर्न सक्ने भरोसायोग्य उम्मेदवार नै जनताको छनोटमा पर्नेहुन् ” उहाँले भन्नुभयो ।
यस्तो छ विगतको नजिर
विगत तीनदशक यताको नतिजा हेर्दा म्याग्दीमा कुनै पनि राजनीतिक दलको स्थिर परिणाम देखिदैन । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका राजनीतिक दलहरूको गठबन्धनबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) विजयी हुनुभएको थियो । प्रदेशसभाको क्षेत्र (क) र (ख) मा नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्र को गठबन्धनबाट नेकपा माओवादीका हरी भण्डारी र रेशम जुग्जाली (सुविन) निर्वाचित हुनुभएको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका भूपेन्द्र थापा तत्कालीन वाम गठबन्धनबाट विजयी हुँदा प्रदेशसभाको १ (क) मा माओवादीका विनोद केसी र (ख) मा एमालेका नरदेवी पुन विजयी हुनुभएको थियो । २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एमालेका हालका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा विजयी हनुभएको थियो ।
२०६४ को संविधानसभाको पहिलो निर्वाचनमा माओवादीका गोविन्द पौडेल, २०५६ को संसदीय चुनावमा नेपाली कांग्रेसका नारायणसिंह पुन र त्यसअघि एमालेकै निल पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले १८ हजार २७३, नेपाली कांग्रेसले १३ हजार ६९३, नेकपा (माओवादी केन्द्र)ले ९ हजार ७०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ हजार ५७९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ हजार २५३ र नेकपा एकीकृत समाजवादीले २८५ मत पाएका थिए । २०७९ मा माओवादी, एकीकृत समाजवादी, जनमोर्चासहितका दलहरूको सर्मथन पाएका नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत पाउनुभएको थियो ।
म्याग्दीमा निर्वाचनका लागि कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । जसमध्ये अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।










