नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको आयोजनामा मङ्गलवार बेनी नगरपालिका ५ नम्बर वडाको गाजने र पुलाचौरमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एमालेले निर्वाचन केन्द्रीत अभियान अन्तर्गत घरदैलो र मतदाता भेटघाट एवं चुनावी सभालगायत कार्यक्रमलाई तीव्रता दिएको हो ।

गाजनेको जगन्नाथ मन्दिरमा पूजाअर्चना र दर्शनपछि बोल्दै एमाले म्याग्दीका प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ऐतिहासिक जगन्नाथ मन्दिर, ढोलठान तथा डढकोट राजदरबार क्षेत्र र पौलस्त्य पुलहाश्रमलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले आफू प्रतिनिधि सभा निर्वाचनमा सफल भएपछि पुलहाश्रम–ढोलठान र जगन्नाथ क्षेत्रमा धेरैभन्दा धेरै धार्मिक पर्यटकहरुको आकर्षण वृद्धि गर्नका लागि विकासका पूर्वाधारहरु निर्माणमा आफूले जोड दिने बताउनुभयो ।

पौलस्त्य पुलहाश्रम क्षेत्रमा यसअघि एमालेबाट निर्वाचित सांसद भूपेन्द्रबहादुर थापाको पहलमा अहिले रावणपार्क निर्माण भैरहेको बताउँदै धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा आवश्यक भौतिक संरचनाहरु थप गरिने बताउनुभयो । उहाँले पुलाचौरसम्म सडकको स्तरोन्नति र कालोपत्रे भएकाले आफू निर्वाचित भएपछि पुलाचौरदेखि माथि नयाँगाउँ–गाजने सडकको स्तरोन्नतिका लागि विशेष पहल गर्ने बताउनुभयो । जगन्नाथ मन्दिरमा गाजनेका स्थानीयवासीले मन्दिरसम्म आउने सडकको स्तरोन्नति गर्न उम्मेदवार श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।

भीरमुनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठले स्थापनाकालदेखि नै एमालेले राष्ट्रिय स्वाधीनताको रक्षा र सरकार तथा प्रतिपक्षको भूमिकामा रहँदा पनि जनमुखी कामहरु निर्माणमा जोड दिएको बताउनुभयो । उहाँले एमाले पार्टी र आफू निर्वाचनमा हार बेहोरेको भए पनि सधैँ जनताको साथमा रहेको बताउँदै देश बनाउने पार्टी नेकपा एमाले भएकाले एमाले पार्टी र एमालेका उम्मेदवारको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो । उहाँले बेनीबाट अर्थुङ्गे–भीरमुनि हुँदै पुलाचौर तथा चिप्लेटी जोड्ने सडकको स्तरोन्नति गर्न आफूले प्राथमिकतामा दिने योजना सुनाउनुभयो ।

कार्यक्रममा एमाले नेता एवं बेनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष गोविन्द बानियाँले निर्वाचनमा सहभागी सबै पार्टी र उम्मेदवारको तुलनामा एमाले योग्य तथा सक्षम रहेकाले एमालेलाई भोट दिन सुझाव दिनुभयो । उहाँले ५ नम्बर वडाको सबै टोल तथा वस्तीस्तरमा नागरिकले अनुभूति हुने गरी विकास निर्माणका कामहरु भैरहेको बताउँदै आसन्न निर्वाचनमा पनि एमालेको पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो । एमाले बेनी नगरपालिका कमिटी अध्यक्ष बेलबहादुर कटुवालले स्पष्ट योजना, नीति, कार्यक्रम र भिजनसहित निर्वाचनमा एमालेले सहभागिता जनाएको बताउँदै विकास र परिवर्तनका लागि एमालेलाई भोट दिएर जिताउनुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा एमाले म्याग्दीका जिल्ला सचिवालय सदस्य रामप्रसाद सुवेदी, पूर्व सल्लाहकारद्वय लक्ष्मण बानियाँ, हर्कबहादुर खत्री, एमाले बेनी नगरपालिका कमिटी सचिव भोजबहादुर रिजाल, ५ नम्बर वडा कमिटी उपाध्यक्ष दिपक बानियाँ, अनेमसंघका नेता एवं ५ नम्बर वडा सदस्य दुर्गा पौडेललगायत एमाले नेताहरु तथा मतदाताहरुको उपस्थिति रहेको थियो ।












