म्याग्दीको बेनी नगरपालिका-९, तोरीपानी घरबासमा बुधबार यूरोपेली मुलुक अष्ट्रियाका २० जना पर्यटक पुगेका छन् । बेनी नगरपालिकाको एकमात्रै घरबास तोरीपानीमा एकैपटक ६ जना नेपाली सहित ३ दिनको बसाई सहित कार्यक्रमका लागि पर्यटक पुगेपछि भब्य स्वागत गरिएको छ ।

इको हिमाल नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा मंसिर महिनाको १८ गतेदेखि पाँचवटा घरमा २१ जना क्षमताको घरबास सञ्चालनमा आएपछि पहिलोपटक धेरै विदेशी पर्यटक होमस्टेमा आएको तोरीपानी सामुदायिक घरबास समूहकी अध्यक्ष सीता खत्रीले बताउनुभयो । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको घरबास कार्यक्रममा विदेशी पर्यटकको आगमनले उत्साहित भएको अध्यक्ष खत्रीको भनाई छ ।

हाल परियोजनामार्फत तोरीपानीमा आएका पर्यटकलाई स्थानीय परिकार सहित सन्तुष्ट बनाएर पठाउने अध्यक्ष केसीले बताउनुभयो । घरबासमा आउनेलाई स्वागत तथा मौलिक कला र संस्कृतिको प्रदर्शनीका साथै स्थानीय उत्पादन उपहार तथा बिक्री गरिने छ ।

तोरीपानीका जुना खत्री, रश्मी चोखाल, सुजता चोखाल, युव गिरी र भगवान श्रेष्ठको घरमा घरबास कार्यक्रमको मापदण्ड अनुसारको संरचना बनेपछि होमस्टेल सञ्चालन गरिएको हो । गत महिना नेपाल पत्रकार महासंघ म्याग्दीको ब्यवस्थापनमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यसमितिको घुम्ती बैठक समेत सञ्चालन गरी तोरीपानी घोषणापत्र जारी गरिएको थियो ।

तोरिपानीको होमस्टेबाट हिमालका दृष्यहरु आँखै अगाडी ठोकिन्छ । गाउँको शिरानमा बाइसे–चौबीसे राज्य रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको राजधानी ढोल्ठान छ । पौराणिक स्थल पुलहाश्रम जगन्नाथ मन्दिर, डढेकोट दरबार, केभहिल सजिलै जान सकिन्छ ।

जिल्लाको प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी, पर्यटकीयस्थल टोड्के, विश्वकै सातौं अग्लो धौलागिरी हिमालको बेसक्याप सहित रघुगंगा गाउँपालिकाका सुन्दर बस्तीहरूमा जाने धौलागिरी सेञ्चुरी पदमार्गको रुटसमेत पर्छ । म्याग्दीको टिम्बुरको राजधानी समेत भनेर चिनिने घरबास कार्यक्रमलाई स्थानीयले थप विस्तारको योजना समेत बनाएका छन् ।













