---Advertisement---

टिम्बुरको राजधानीमा अस्ट्रियन पर्यटकको लर्को

On: February 25, 2026 1:19 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–९ स्थित तोरिपानीमा छुट्टै रौनक छ । हिमालको काखमा रहेको यो सुन्दर बस्तीमा बुधबार युरोपेली मुलुक अस्ट्रियाका २० पर्यटकको आगमनले गाउँलेमा उत्साह थपिदिएको छ । ६ जना नेपाली पाहुनासहित तीन दिने बसाइका लागि पुगेका उनीहरूलाई स्थानीयले भव्य स्वागत गरे ।

इको हिमाल नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा मङ्सिर १८ गतेदेखि यहाँका पाँचवटा घरमा २१ जना क्षमताको घरबास (होमस्टे) सञ्चालनमा आएको थियो । तोरिपानी सामुदायिक घरबास समूहकी अध्यक्ष सीता खत्रीले घरबास सुरु भएपछि पहिलोपटक यति धेरै सङ्ख्यामा विदेशी पर्यटक आएको बताइन् । ‘स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा विदेशीको आगमनले हामीलाई निकै उत्साहित बनाएको छ,’ उनले भनिन् ।

परियोजनामार्फत आएका ती पर्यटकलाई स्थानीय परिकार खुवाएर र सन्तुष्ट बनाएर पठाउने योजना स्थानीयको छ । घरबासमा आउने पाहुनालाई स्वागत, मौलिक कला र संस्कृतिको प्रदर्शनीका साथै स्थानीय उत्पादनहरू उपहार दिने र बिक्री गर्ने गरिन्छ । तोरिपानीका जुना खत्री, रश्मी चोखाल, सुजता चोखाल, युव गिरी र भगवान श्रेष्ठको घरमा मापदण्डअनुसारका संरचना बनेपछि होमस्टे सञ्चालन गरिएको हो । केही समयअघि मात्रै नेपाल पत्रकार महासङ्घ म्याग्दीको व्यवस्थापनमा गण्डकी प्रदेश कार्यसमितिको घुम्ती बैठकले यहाँ ‘तोरिपानी घोषणापत्र’ समेत जारी गरेको थियो ।

तोरिपानीका घरबाट हिमालका दृश्यहरू आँखै अगाडि ठोकिन्छन् । गाउँको शिरमा बाइसे–चौबीसे राज्यका पालाको तत्कालीन पर्वत राज्यको राजधानी ढोल्ठान छ । यहाँबाट पौराणिक स्थल पुलहाश्रम, जगन्नाथ मन्दिर, डढेकोट दरबार र केभहिल सजिलै पुग्न सकिन्छ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी र पर्यटकीयस्थल टोड्के जानेहरूका लागि पनि यो उपयुक्त मार्ग हो । यति मात्र होइन, विश्वकै सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर र रघुगङ्गा गाउँपालिकाका सुन्दर बस्तीतर्फ जाने धौलागिरि सेञ्चुरी पदमार्गको रुट पनि यहीँ पर्छ ।

म्याग्दीको ‘टिम्बुरको राजधानी’ भनेर चिनिने यस क्षेत्रको घरबास कार्यक्रमलाई स्थानीयले थप विस्तार गर्ने योजना बनाएका छन् । आफ्नो थातथलोमा विदेशी पाहुनाको चहलपहल बढ्न थालेपछि तोरिपानीका बासिन्दा यतिबेला आफ्नो गाउँको पहिचान विश्वभर फैलाउन कम्मर कसेर लागेका छन् ।

Leave a Comment