---Advertisement---

मुक्तिधाम माविका विद्यार्थीले फलाएको च्याउ, टमाटर बजारमा

On: February 26, 2026 12:04 AM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका-२, भगवगीमा अवस्थित मुक्तिधाम माविमा अध्ययरत विद्यार्थी अहिले नियमित खेतबारीमा भेटिन्छन् । विद्यालयमा प्राविधिक धार अन्तरगत कृषि बाली विज्ञान विषयमा पढाइ सुरू भएपछि विद्यार्थीले पाठ्यक्रमसँगै नर्सरी, टनेलभित्र काम गरिरहेको देखिन्छ ।


कृषिपेशामा आवद्ध आमाबुबालाई समेत खेतीपातीमा सघाउन हिचकिचाउने विद्यार्थीले टनेलभित्र च्याउ, टमाटर सहित बेमौसमी तरकारी उत्पादन गरी बिक्री गर्ने गरेका छन् । विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा रेजिना भण्डारीले तरकारी, च्याउ उत्पादनका बारेमा प्रयोगात्मक अभ्यासबाट सिक्ने अवसर मिलेको बताउनुभयो ।

कक्षा कोठाबाहेक खेतबारीमा समेत पुगेर कृषिसम्बन्धि जानकारी पाएका विद्यार्थीले अहिले घरमा समेत अभिभावकलाई सघाउने गरेको विद्यार्थी भण्डारीको भनाई छ । जिल्ला बाल सञ्जाल म्याग्दीकी अध्यक्ष समेत रहनुभएकी भण्डारीले बाली विज्ञानले परम्परागत खेती गर्ने गाउँघरका अभिभावकलाई नयाँ प्रविधि प्रयोग गरेर आधुनिक खेती गर्न सिकाउन समेत सहज भएको बताउनुभयो ।


पढ्दै, सिक्दै, कमाउँदै गर्ने योजनामा रहेका विद्यार्थीले फुर्सदको समयमा घरमा समेत खेतीपातीमा ब्यस्त हुने गरेको विद्यालयका कृषि प्रशिक्षक तथा कृषि संयोजक प्रभात सुवेदीले बताउनुभयो । शिक्षक सुबेदीका अनुसार विद्यार्थीले च्याउ, २ क्विटल टमाटर बिक्री गरी विद्यालय र विद्यार्थीलाई वितरण गरिएको छ । गतबर्ष च्याउ १ सय २० केजी उत्पादन भएको थियो ।

कृषि उत्पादन र आम्दानीका बारेमा बुझेका अभिभावकले समेत विद्यार्थीलाई हौसला दिन थालेपछि आगामी शैक्षिक सत्रमा विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको छ । विद्यार्थीले विषादीरहित उत्पादन गर्ने गरेका छन् । मल बोक्ने, बारी खनजोत, गोडमेल, नियमि हेरचाह गर्ने विद्यार्थीले तालिका नै बनाएका छन् । माटो परीक्षण, बीउ उत्पादनलगायत विषय प्रयोगशालामा विद्यार्थीलाई सिकाउने गरिएको छ ।

Leave a Comment