हरिकृष्ण गौतम
म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङकी १८ बर्षिया सन्ध्या विकको १९ वर्ष पुग्दा–नपुग्दै सन्तानकी आमा भइसकेकी छन् । कलिलैमा बिहे गरेकी उनको दुई बर्षकी छोरी छिन् । चरम गरिबी, अशिक्षा र जनचेतनाको अभावका कारण सीमा विक,रस्मिता विकले बीस वर्ष नपुगी विवाह गरिन् ।
भौगोलिक रुपमा विकट भएकोले विकासका पूर्वाधारहरुबाट टाढा रहेको यो गाउँ वर्षौँदेखि बाल विवाहको नमिठो स्वादले दिक्क परेको छ । नेपालको कानुनले २० वर्षभन्दा मुनिको बिहेलाई गैरकानुनी मान्ने गरेको छ । तर, लुलाङका सन्ध्या, सीमा र रस्मिता कलिलै उमेरमा विवाह गर्ने प्रतिनिधि पात्र मात्रै हुन् । दलित समुदायको बसोबास रहेको लुलाङबाट बर्षेनी धेरै किशोरीले परिवारको दबाब र सामाजिक सञ्जालको माध्यमबाट प्रेम सम्बन्धका कारण कलिलै उमेरमा विवाह गर्ने गरेका छन् ।आफ्नो बाल्यकालका साथीहरू धमाधम विवाह गर्न थालेपछि स्थानीय १५ बर्षिया एन्जिला रसाइलीले गाउँ छोडिन् ।

आफ्ना साथीहरूले सानै उमेरमा विवाह गरेर गएपछि मुस्ताङमा मामातर्फको हजुरबुबा, हजुरआमासँग बसेर सदरमुकाम जोमसोम बजारमा रहेको जनहित माविमा कक्षा ९ मा अध्ययनरत रसाइलीले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गाउँमा भोट माग्न आउनेलाई बालविवाह रोक्न विपन्नलाई रोजगारी, आयआर्जन तथा किशोरीको सुरक्षा सहितको शिक्षाको माग गर्ने गरेकी छन्।

जाडो बिदामा घर आएकी रसाइलीले गरिबीका कारण खर्च जुटाउन नसकेर कलिलै उमेरमा विवाह गर्नुपर्ने बाध्यताबाट अभिभावकलाई मुक्त गर्न आयआर्जन, गाउँमा रहेको विद्यालयमा राम्रो शिक्षा, स्वास्थ्य सुविधा, जनचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने बताइन् । उनले गाउँका र बाल विवाह गर्ने साथीहरुको जीवनमा नै नराम्रो प्रभाव परेको अनुभव सुनाउने गरेको बताइन् । चुनावको बेला गाउँमा प्रचारका लागि आउने नेताहरुले यो समस्या समाधान गरिदिन्छौं भने पनि अहिलेसम्म जस्ताको त्यस्तै छ ।

यो पटक त धेरै सोच विचार गरेर मात्रै भोट हाल्न अभिभावकलाई समेत अनुरोध गरेको उनको भनाई छ । विगतमा गाउँमा चुनाव प्रचार गर्दै भोट माग्न गएका उम्मेदवार र नेताहरुलाई यहाँका वासिन्दाहरुले “बाल विवाहको समस्या समाधान गरिदेऊ,भोट लैजाऊ’ भन्ने गरेपनि चुनावपछि फर्किएर नआउने गरेको उनको गुनासो छ ।
केही दिन अघि लुलाङमा भोट माग्दै पुगेका नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीलाई किशोरी रसाइलीले गुनासो गरेकी थिइन् । उम्मेदवार भण्डारीले बाल विवाहको रोकथामका लागि कानुनी व्यवस्था भए पनि गरिबी,बेरोजगारी र चेतनाको अभावका कारण यहाँ यो समस्या अन्त्य हुन नसकेको बताउँदै सवैभन्दा पहिला आर्थिक स्थिति बलियो हुने खालका कामहरु गर्नुपर्ने र त्यसका लागि आफूले रोजगारीको व्यवस्था गरिदिई बालविवाह न्यूनिकरणका लागि प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

‘किशोरीको सुरक्षाको ग्यारेन्टी लिन्छु, नेपालमा बाल विवाह कानूनी रूपमा प्रतिबन्धित छ । मुलुकी फौजदारी संहिता, २०७४ अनुसार विवाहको कानूनी उमेर पुरुष र महिला दुवैका लागि २० वर्ष तोकिएको छ । यदि यसभन्दा कम उमेरमा विवाह गराइयो भने यो अपराध मानिन्छ’ उम्मेदवार भण्डारीले भने ।
यसलाई रोक्न आफू निर्वाचित भएर गएपछि सचेतना र रोजगारीलाई नै प्राथमिकता दिने उम्मेदवार भण्डारीले बताए । त्यसैगरी गाउँमा भोट माग्न आएका सवै उम्मेदवारहरुलाई स्थानीयले बाल विवाह रोकिदिने प्रतिवद्धता गर,भोट दिन्छौं भन्ने गरेका छन् ।
‘परिवार धेरै,कमाइ केही नहुने,पढ्ने उमेरमा घाँसदाउराको भारी वोक्न जानुपर्ने,त्यो भन्दा त बरु विवाह गरेर गए पछि हाइसन्चो हुने लोभले यहाँका छोरीचेलीहरु उमेर नपुग्दै विवाह गरेर जान वाध्य छन्’ लुलाङका ७३ वर्षिय कृष्ण कुमाइले भने ।
उनले आफ्नो ५ छोरीलाई समेत कलिलै उमेरमा विवाह गरेको बताए । मुलुकी फौजदारी संहिता, २०७४ को धारा १७३ मा नाबालकलाई विवाह गर्न बाध्य पार्ने वा गराउनेलाई १ देखि ५ वर्षसम्म कैद र जरीवाना सजाय हुने व्यवस्था छ । त्यसैगरी बाल विवाह निवारण ऐनले बाल विवाहलाई रोक्न सरकारी निकायलाई कारबाही गर्ने अधिकार दिएको छ ।
नेपालले बाल अधिकारसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेको छ, जसले बालबालिकालाई जबर्जस्ती वा कम उमेरमा विवाहबाट जोगाउने दायित्व दिन्छ । यति हुँदाहुँदै पनि म्याग्दीको पश्चिमी क्षेत्रमा बाल विवाह नरोकिँदा ठूलो समस्या उत्पन्न भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनले गाउँ–समुदायमा शिक्षा, छलफल, नाटक वा अभियानमार्फत बाल विवाहको हानिकारक असरबारे जानकारी दिने गरिएको भए पनि यो समस्या समाधान हुन सकेको छैन ।










