---Advertisement---

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

On: February 28, 2026 6:14 PM
Follow Us:

यही फागुन २१गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सम्पूर्ण तयारी म्याग्दीमा अन्तिम चरणमा पुगेको छ ।
म्याग्दीका मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।

उहाँका अनुसार प्रतिनिधि सभा निर्वाचनमा खटिने कर्मचारीलाई नियुक्तीपत्र वितरण शुरु भएको छ । ८२ मतदानस्थलका १२२ मतदान केन्द्रमा खट्ने कर्मचारीको टुंगो लगाइसकिएको र मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्तीपत्र वितरण शुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सुरक्षाकर्मी तथा कर्मचारी खटनपटनसँगै निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले निर्वाचनमा खटिने निर्वाचन प्रहरीको केन्द्र तय गरेर मतदानस्थल तर्फ खटाइसकेको छ । निर्वाचनका लागि खटाइएका कर्मचारी र शुरक्षाकमी नियुक्तीपत्र लिएर दुरी अनुसार १७ र १८ गते मतदान केन्द्र तर्फ लाग्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभएको छ ।

जिल्लाका सबै मतदान स्थलको अनुगमन गर्नुका साथै सुरक्षा व्यवस्था बारेमा समेत चुस्तता दिएको प्रजिअ आचार्यले बताउनुभयो ।
निर्वाचन सुरक्षा योजना बनाएर कार्यान्वयनमा पनि ल्याएको हुनाले निर्वाचन शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ ।

आचारसंहिता अनुगमन अधिकृत कुलप्रसाद आचार्यले जिल्लामा लिखित र मौखिक गरी ९ वटा उजुरी आएको बताउनुभयो । उहाँका अनुसार हालसम्म आएका उजुरी मध्ये एउटालाई लिखित जवाफ मागिएको र अन्यलाई मौखिक रुपमा सचेत गराइएको छ । सामाजिक सञ्जालमा गरेका पोष्टलाई हटाउन लगाइएको उहाँको भनाई छ ।

म्याग्दीमा ८२ वटा मतदानस्थलमा एक सय २० मतदान केन्द्र कायम गरिएको छ । त्यस्तै जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुका लागि कारागारमा एउटा र कर्मचारीहरुका लागि कर्मचारी मिलन केन्द्रमा दुई वटा अस्थायी मतदान स्थल कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर वर्गीकरण गरेको छ । म्याग्दीमा कुल ८६ हजार तीन सय ९७ मतदाता रहेका छन् ।

फागुन १८ गतेभित्र सबै मतदान स्थलमा कर्मचारी तथा सुरक्षाकर्मी पुगिसक्ने गरी खटनपटनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी तथा स्वयंसेवक गरी कुल १ हजार ७४ जना कर्मचारी परिचालन गरिनेछ । यसबाहेक सुरक्षाकर्मी र अनुगमनकर्ताहरू पनि खटिनेछन् ।


निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्लामा एकीकृत सुरक्षा रणनीति लागू गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मनोनयन दर्तादेखि निर्वाचन प्रचार–प्रसार, मौन अवधि, मतदान, मतगणना तथा विजयी उत्सवसम्मका कार्यक्रमलाई लक्षित गरी जिल्लास्थित सुरक्षा निकायहरूबीच आवश्यक समन्वय र सहकार्य सुदृढ बनाइएको छ । मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरी सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले मतदातालाई आफ्नो नाम मतदाता नामावलीमा सुनिश्चित गरी मतदानमा सहभागी हुन आह्वान गरेको छ । सरोकारवाला निकायहरूले सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई आचारसंहिता पालना गर्दै लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।

 

Leave a Comment