---Advertisement---

सिरक डसना बनाएर दैनिक तीन हजारसम्म आम्दानी

On: March 1, 2026 10:04 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको पुलचोकमा शनिबार दिउसो भेटिएका ५६ वर्षिय अतिफ अन्सारी पाँच दिनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिडिरहनुभएको छ ।

विगत ३८ वर्षदेखि विभिन्न जिल्लाका वस्तीवस्तीमा पुगेर सिरक डसना बनाउने पेसा गर्दै आउनुभएका उहाँले दैनिक रु दुई हजार पाँच सयदेखि तीन हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

रौतहट जिल्लाबाट ट्याक्टरमा रुवा बनाउने उपकरण जडान गरेर म्याग्दीमा आउनुभएको अन्सारीले शनिवार बगरफाँटमा १५ वटा डसना बनाएको बताउनुभयो । उहाँले कपडा पेलेर रुवा निकाली १० किलोको डसना बनाएको रु एकहजार दुईसय लिने गर्नुभएको छ ।

अन्सारीसँगै युगेस मण्डल र बद्री सोहनीले साँझसम्म मेसिनबाट कपडा पेलेर कपास निकाली सोही कपासबाट विभिन्न व्यक्तिका १५ वटा नयाँ सिरक र डसना बनाउनुभयो । १५ वटा सिरक डसना बनाउँदा रु १८ हजार आम्दानी भएको र सबै खर्च कटाउँदा रु नौ हजार वचत हुने अन्सारीले बताउनुभयो । तीन जनाले दामासाहीले बाढ्दा प्रतिव्यक्ति रु तीन हजार एकजनाको भागमा पर्ने भएकोले कमाइ राम्रै हुनेगरेको अन्सारीको भनाइ थियो ।

अन्सारीले भन्नुभयो “नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यही कमाइले हाम्रो परिवार चलेको छ,छोराछोरीले पढेको छ ।”
घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुतीका कपडाको रुवा बनाउने उपकरण र ट्याक्टरसँगै लिएर हिँड्न थालेकाले पुराना कपडा खेर नजाने बगरफाँटका खिमबहादुर कार्कीले बताउनुभयो “आजभोलि पुराना सुतीका कपडा खेर जाँदैनन्, घरघरमा सिरक डसना बनाउने व्यक्ति आएर सबै पेलेर कपास निकाली सिरक डसना बनाइदिन्छन्”कार्कीले भन्नुभयो ।

पहिला पहिला हातैले कपास निकालेर सिरक डसना बनाउने गरेकोमा विगत १६ वर्षदेखि मेसिन राखेर काम गरिरहेको र यसबाट राम्रो आम्दानी भइरहेको बद्री सोहनीले बताउनुभयो । उहाँहरु दैनिक ट्याक्टरमा मेसिन जडान गरी बिहानदेखि बेलुकासम्म गाउँ गाउँमा पुग्नुहुन्छ । त्यहाँका स्थानीयहरुको घरमा भएका र कामै नलाग्ने पुराना कपडाहरु पेलेर कपास बनाउने मात्रै होइन त्यही कपासबाट सिरक र डसना बनाउने गरेको र त्यसको लागि आवश्यक पर्ने कपडा पनि सँगै लिएर बेच्ने गरेको सोहनीले बताउनुभयो ।

पुराना कपडाहरुको सदुपयोग भएपछि स्थानीय बासिन्दाहरुले पनि आफूसँग खुसी व्यक्त गर्ने गरेको उहाँले सुनाउनुभयो । पुराना थोत्रा कपडा मेसिनमा पेलेर कपास बनाएवापत प्रतिकिलो रु. ५० र सिलाइवापत् डसना र सिरकको साइज हेरी रु. एकहजारदेखि एक हजार आठ सयसम्म लिने गरेको र कपडाको दाम छुट्टै लिने गरेको उहाँले बताउनुभयो ।

तीनदेखि पाँच जनाको समूहमा काम गर्ने गरेको सोहनीको भनाइ छ । ट्याक्टरमा सुतीका पुराना कपडा फिटेर रुवा बनाउने उपकरण लिएर हिँड्ने उहाँको समूहले जाडोको समयमा दैनिक रु ३५ हजारसम्म कमाइ गरेको बद्रीले जानकारी दिनुभयो । पछिल्लो समय तयारी अवस्थाका फाइबरका सिरक, डसनालगायत सामग्रीको प्रयोग बढिरहेकाले आफ्नो व्यवसाय जोखिममा पर्ने हो कि भन्ने चिन्ता उहाँहरुको रहेको छ ।

Leave a Comment