यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको विशेष बललाई म्याग्दीमा खटाइएको छ । आइतबार सदरमुकाम बेनीबजारमा काठमाण्डौबाट खटिएको टोली बजार तथा ग्रामिण क्षेत्रमा गस्ती गरेको छ । गएको माघ २१ गते अर्थुङ्घेमा रहेको नेपाली सेनाको गुरू गोरख गुल्मबाट निर्वाचन सुरक्षार्थ ‘फिल्ड’ मा तैनाथ भएको अवस्थामा संयुक्त गस्तीका लागि विशेष बल बेनीमा आइपुगेको गुल्मपति सेनानी राजेश बस्नेतले बताए ।

म्याग्दीका ६ वटै स्थानीय तहमा निर्वाचन अवधिभर नियमित गस्ती तथा मतदानस्थलको सुरक्षा, मतपेटिका संकलन सहित एकीकृत निर्वाचन सुरक्षा कार्ययोजनाअनुसार सेना फिल्डमा परिचालन भएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए ।

नेपाली सेना मतदान सम्पन्न नभएसम्म उनीहरू फिल्डमै रहने प्रजिअ आचार्यको भनाई छ। नेपाल प्रहरी ,सशस्त्र प्रहरी र निर्वाचन प्रहरीले आफ्नो घेरामा रहेर सुरक्षा प्रदान गर्ने जस्तै नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा प्रदानसहित मतपेटिकालाई गणनास्थलसम्म ल्याउन सुरक्षा दिने र मतदान अधिकृतको अनुमति र आग्रहमा मतदानस्थलभित्र आवश्यकता अनुसार प्रवेश गरी सुरक्षामा खटिने जनाइएको छ । मतदान सकिएर मतपरिणाम नआउँदासम्म तोकिएको जिल्ला कारागार सहित अन्य विभिन्न क्षेत्रमा अस्थायी सुरक्षा व्यवस्थापन जिम्मा नेपाली सेनालाई रहेको छ ।

निर्वाचनमा सुरक्षा निकायलाई लामो, मध्यम र छोटो दूरीमा पैदल गस्तीका अलवा सवारी गस्ती तथा परिचालन समेत गरिने छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर वर्गीकरण गरेको छ। म्याग्दीमा कुल ८६ हजार तीन सय ९७ मतदाता रहेका छन् । निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी तथा स्वयंसेवक गरी कुल १ हजार ७४ जना कर्मचारी परिचालन गरिनेछ ।











