यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा रहेको मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो ।
मतदान गर्ने मिति नजिकिँदै गर्दा मतगणनास्थलको ब्यवस्थापनको गर्ने काम समेत सकिएको छ । मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले मतदान अधिकृत सहित कर्मचारीको नियुक्ती, परिचालनसँगै मतगणना सम्पन्न भएपछि मतपेटिका ढुवानी, गणनास्थलको ब्यवस्थापन गरिएको बताउनुभयो । मतदान सम्पन्न भएपछि फागुन २१ गते रातीसम्म जिल्लाका सबै स्थानबाट मतपेटिका ल्याउने र २२ गते विहान सर्वदलिय तथा उम्मेदवारलाई राखेर निर्णय गरेपछि मतगणनाको काम अगाडी बढ्ने मुख्य निर्वाचन अधिकृत थापाको भनाई छ । जिल्लाका ६ वटै स्थानीय तहमा ८२ वटा मतदानस्थलमा एक सय २० मतदान केन्द्र कायम गरिएको छ ।
त्यस्तै जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुका लागि कारागारमा एउटा र कर्मचारीहरुका लागि कर्मचारी मिलन केन्द्रमा दुई वटा अस्थायी मतदान स्थल कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर वर्गीकरण गरेको छ। म्याग्दीमा कुल ८६ हजार तीन सय ९७ मतदाता रहेका छन् ।
निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी तथा स्वयंसेवक गरी कुल १ हजार ७४ जना कर्मचारी परिचालन गरिनेछ । यसबाहेक सुरक्षाकर्मी र अनुगमनकर्ताहरू पनि खटिनेछन् । निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण तथा निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक समन्वय भइरहेको छ ।










