यही बिहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका जिल्लाभर ८२ मतदानस्थलमा रहेका १ सय २० केन्द्रको अनुगमन तथा आवश्यक पूर्वाधार थपिएको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा भएको अनुगमनमा मतदान केन्द्र तथा स्थलको अनुगमनमा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी आचार्य, प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापा, शसस्त्र प्रहरी बल नेपालका डिएसपी लिला भुजेल, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत बिजय पौडेल, जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतम सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।
ग्रामिण क्षेत्रका मतदानस्थलमा रहेका केन्द्रको समेत अनुगमनको क्रममा देखिएका समस्याहरु समाधान भएको छ । मतदान अधिकृत सहितको टोली मतदानस्थलमा पुगेर आवश्यक तयारी समेत गरिसकेको छ ।

मतदानस्थलको भौतिक पूर्वाधार,सडक,खानेपानी,शौचालय,घेराबार,विद्युत लगायतको अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गरिएकोमा सबै मतदान केन्द्र सुरक्षित रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण,सुव्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदानस्थलको भौतिक पूर्वाधार र सुरक्षाका विविध पक्षमा अनुगमनसँगै स्थानीय जनप्रतिनिधि सहितका सरोकारवाला निकायसँग समेत छलफल गरिएको थियो ।

जिल्लाभर ८२ मतदानस्थल र एक सय २० मतदान केन्द्र कायम भएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य वर्गमा विभाजन गरेको छ । १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र आठवटा सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् ।











