निर्वाचन आयोग ले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेमाथि कडा कारबाही गर्ने स्पष्ट चेतावनी दिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो सन्देश जारी गर्दै आचारसंहिता विपरीत गतिविधि भए तुरुन्त आयोगलाई जानकारी गराउन आग्रह गरेका हुन्।
भण्डारीले मौन अवधिमा ‘जस्केलाबाट हुने काम’ बढ्ने चर्चा भइरहेकाले आयोग सचेत र सतर्क रहेको बताए। ‘अनियमित र अवैध काम गर्न उद्धत व्यक्तिहरूलाई पहिचान गरेर यदि त्यस्तो काम भएको छ भने हामीलाई जानकारी दिनुस्,’ उनले सरोकारवालासँग आग्रह गरे।
कानुनले निषेध गरेका गतिविधि वस्तुगत प्रमाणका आधारमा ठहरिए सम्बन्धित उम्मेदवारको उम्मेदवारी नै खारेज गरिने उनले स्पष्ट पारे। त्यस्तै, दोषी ठहरिएका व्यक्तिलाई ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने गरी कारबाही गरिने चेतावनीसमेत दिए।
‘यदि त्यस्तो भयो भने त्यसमा शून्य सहनशीलता हुन्छ,’ उनले भने, ‘जहाँ जस्तो जे पाउनुहुन्छ, सूचना आयोगलाई दिनुस्। कारबाही गर्न आयोग पछि हट्दैन।’
सामाजिक सञ्जालको दुरुपयोगप्रति पनि आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ। मौन अवधिमा सामाजिक सञ्जालमार्फत गलत ढङ्गले सामग्री प्रसारण गरी इच्छित उद्देश्य पूर्ति गर्न खोजिए स्रोतसम्म पुगेर कारबाही गरिने भण्डारीको भनाइ छ। ‘अहिले त्यस्ता सामग्री हटाइदिनुस् भनेर हामीले पटक–पटक आग्रह गरेका छौँ,’ उनले भने, ‘मौन अवधिमा त्यस्ता समाचार सम्प्रेषण भए स्रोतको खोजी गरेर कारबाही गर्छौँ।’
यसैबीच, निर्वाचन सम्पन्न भइसकेपछि सकेसम्म छिटो नतिजा सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ। मतपेटिका प्राप्त भएको २४ घण्टाभित्र मतपरिणाम घोषणा गर्ने लक्ष्य राखिएको आयोगले जनाएको छ।












