मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रुपमा लैजानुपर्ने निर्वाचन आयोगले बताएको छ । मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरुको सहजताका लागि मतदान प्रक्रिया र आवश्यक कागजातहरुको बारेमा स्पष्ट जानकारी गराउनुभएको हो । मतदाता शिक्षा कार्यक्रम अन्तर्गत डिजिटल माध्यम र स्वयं सेवकहरुमार्फत घर–टोलमै पुगेर शिक्षा प्रदान गरिएको प्रवक्ता चट्टराईले बताउनु भयो । मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रुपमा लैजानुपर्नेछ ।
यदि कुनै कारणवश मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको खण्डमा मतदाताले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को सक्कल प्रति देखाएर पनि मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ । मतदान केन्द्रमा पुगेपछि मतदाता नामावलीमा नाम रुजु गराइनेछ । त्यसपछि मतदातालाई पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतपत्र दिइनेछ । गोप्य मतदान कक्षमा गएर आफूलाई मन परेको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाई प्रत्यक्षतर्फको मतपेटिकामा खसाल्नुपर्नेछ ।
उहाँले भन्नुभयो, ‘मतदाता शिक्षाको लागि हामीले यो डिजिटल भो्टर एजुकेसन पनि पहिलेदेखि सञ्चालन गरेका थियौँ र ३ गतेदेखि १७ गतेसम्म घर टोल छिमेकहरुमा पुगेर सबै मतदाता शिक्षा स्वयंसेवकहरुले मतदाता शिक्षा प्रदान गर्नुभयो ।
त्यस बाहेक राजनीतिक दलहरुले प्रदान गरेको मतदाता शिक्षा र आम सञ्चार माध्यमले प्रवाह गरेका सूचनाले पनि मतदातालाई धेरै सूचना पुगेको छ भन्ने हामी विश्वास गर्छौं । र समग्रमा भन्दा मतदाताले आफू त्यहाँ पुगिसकेपछि मतदान केन्द्रमा जाँदा खेरी उहाँहरुले आफूसित छ भने मतदाता परिचय पत्र, छैन भने हराएको छ, नासिएको छ, नष्ट भएको छ भने नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, ड्राइभिङ लाइसेन्स अथवा लालपुर्जाको सक्कल कपी हातमा लिएर उहाँ मतदान केन्द्रसम्म पुग्नुहुनेछ ।
मतदान केन्द्रमा पुगिसकेपछि मतदाता नामावलीमा उहाँको नाम भए वा नभएको रुजु गरिसकेपछि उहाँलाई पहिलो हुने निर्वाचित हुने तर्फको मत पत्र उपलब्ध गराइनेछ । त्यसमा गोप्य मतदान कक्षमा गएर आफूले मन पराएको उम्मेदवारलाई त्यो उम्मेदवारको जुन चिन्ह छ उहाँलाई मन परेको, त्यो चिन्हमा मतदान गरिसकेपछि त्यसलाई प्रत्यक्षतर्फको मतपेटिकामा त्यसलाई खसाल्नुहुनेछ । त्यसपछि उहाँलाई त्यही नजिकै समानुपातिक तर्फको मतपत्र उपलब्ध गराइनेछ । समानुपातिक तर्फको मतपत्रमा राजनीतिक दललाई मतदान गर्नुपर्ने भएको हुनाले आफूलाई मन परेको राजनीतिक दललाई मतदान गरेर त्यहाँ राखिएको अर्को मतपेटिकामा खसाल्नुहुनेछ ।
र त्यसपछि उहाँहरुलाई सकेसम्म हामीले प्रस्थान र भित्र प्रवेश गर्ने र बाहिर प्रस्थान गर्ने द्वारहरु पनि अलग अलग हुनेगरी मतदान केन्द्रको व्यवस्थापन गर्न भनेका छौँ । ताकि त्यसमा अनावश्यक भीड हुने मतदातालाई त्यहाँ जान असहज हुने अवस्था नआओस् भन्नका लागि इन्ट्री र एक्जिट गेटहरु पनि फरक बनाएको हुनाले उहाँ एक गेटबाट प्रवेश गर्ने, मतदानको काम सम्पन्न गरिसकेपछि अर्को गेटबाट बाहिर निस्किएर आफ्नो घरमा जानुहुनेछ। त्यो हिसाबले मतदानको आवश्यक प्रबन्ध मिलाइसकेको छ ।’
प्रत्यक्षतर्फ मतदान गरेलगत्तै मतदातालाई समानुपातिक तर्फको मतपत्र उपलब्ध गराइने प्रवक्ता भट्टराईले बताउनु भयो । जसमा आफूलाई मन परेको राजनीतिक दलको चुनाव चिन्हमा छाप लगाई अर्को मतपेटिकामा खसाल्नुपर्नेछ । भीडभाड कम गर्न र सहजताका लागि मतदान केन्द्रमा प्रवेश गर्ने र बाहिर निस्कने छुट्टाछुट्टै ढोकाहरुको व्यवस्था गरिएको छ ।











