---Advertisement---

मौन अवधिमा म्याग्दी शान्त, मतदानको पूर्ण तयारी

On: March 4, 2026 4:24 PM
Follow Us:

प्रतिनिधि सभा सदस्यका लागि भोलि २१ फागुनमा हुने निर्वाचनको पूर्वसन्ध्यामा औपचारिक रूपमा मौन अवधिमा प्रवेश गरेपछि म्याग्दी शान्त छ ।

निर्वाचन आचारसंहिताअनुसार फागुन १८ गते राती १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म कुनै पनि प्रकारको प्रचार–प्रसार, सभा–जुलुस, नारा, सामाजिक सञ्जालमार्फत मत माग्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ ।

चुनावी कोलाहल थामिएको छ । बजार क्षेत्रका झण्डा, ब्यानर र पोस्टर हटाइएका छन् । दलका नेताहरू सम्भावित परिणामको आँकलन गर्न व्यस्त छन् । तर यहाँका मतदाताहरुमा नयाँ उत्साह थपिएको छ । मतदान गर्न आतुर नयाँ मतदाताहरुमा छुट्टै खुसी र उत्साह छ । उनीहरु भोलिको दिन फागुन २१ को प्रतीक्षामा छन् ।

जिल्लामा मतदानको लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयलृ जनाएको छ । मतपत्र सहितका निर्वाचन सामग्री सहित निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु तोकिएको केन्द्रमा पुगेर सर्वपदलीय र सर्वपक्षीय भेला गरी निर्वाचनलाई निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रयासमा छन् ।

मतदानस्थलको भौतिक पूर्वाधार,सडक,खानेपानी,शौचालय,घेराबार,विद्युत लगायतको अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गरिएकोमा सबै मतदान केन्द्र सुरक्षित रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण,सुव्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदानस्थलको भौतिक पूर्वाधार र सुरक्षाका विविध पक्षमा अनुगमनसँगै स्थानीय जनप्रतिनिधि सहितका सरोकारवाला निकायसँग समेत छलफल गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभएको छ ।

जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमका अनुसार म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८६ हजार, तीन सय ९७ मतदाता छन् । जिल्लाभर तोकिएका मतदान केन्द्रमा मतदान सामग्री, कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिसकिएको छ । दुर्गम क्षेत्रका केन्द्रहरूमा समते कर्मचारी र सुरक्षाकमीहरु पुगेर तयारी पूरा गरिसकेका छन् ।

जिल्ला प्रशासन कार्यालयले शान्तिपूर्ण, निष्पक्ष र भयरहित मतदान सुनिश्चित गर्न सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ ।

मतदान गर्ने तयारीमा मतदाता : नयाँ मतदातामा विशेष उत्साह

बिहीबार (भोलि) हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान गर्न मतदाताहरु उत्साहित छन् । विशेष अवस्थामा हुन लागेको यो निर्वाचनमा मतदाताहरुले पनि विशेष खालको नै चासो राखेको पाइएको छ । राजनीतिक चेतना विस्तारसँगै मतदाताहरुमा छुट्टै खालको उत्साह पाइएको म्याग्दी बहुमुखी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो ।

बेनी नगरपालिका २ का नयाँ मतदाता निकेश शर्माले भन्नुभयो “अब कसैले भोट माग्न पाउँदैन। हामीले पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने छ । त्यसैले भोलि बिहानै मतदान केन्द्र जान्छौँ ।”शर्माले भोलि हुन लागेको निर्वाचनमा युवापुस्ताको भूमिका निर्णायक हुने बताउनुभयो । त्यसैगरी मालिका गाउँपालिका ४ की नयाँ मतदाता विपसा पुनले भन्नुभयो “हामी विकास, रोजगारी र सुशासन चाहन्छौँ । प्रचार सकियो, अब विवेकको परीक्षा हो,विवेक पुर्‍याएर मनले खाएको उम्मेदवारलाई भोट दिने हो ।”

राजनीतिक विश्लेषकहरूका अनुसार म्याग्दीमा यसपटक सडक पूर्वाधार, पर्यटन प्रवद्र्धन, रोजगारी,खानी उत्खनन् तथा प्राकृतिक स्रोतहरुको उपयोग र जिल्लाको समृद्धि प्रमुख चुनावी मुद्दा बनेका छन् । मौन अवधिमा मतदाताले आफ्ना प्राथमिकता पुनः मूल्यांकन गर्ने अवसर पाएका छन् ।

निर्वाचन आयोगले मौन अवधिमा सामाजिक सञ्जालमार्फत पनि कुनै किसिमको मत प्रभावित पार्ने सामग्री पोस्ट नगर्न सचेत गराएको छ । आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

मौन अवधिले बाहिरी प्रचार रोकेको छ तर मतदाताको आन्तरिक तयारी झन् तीव्र भएको आफूले पाएको बुद्धिजीवि तथा राजनीतिक विश्लेषक यादव रिजालले बताउनुभयो । भोलि २१ फागुनको मतदानलाई म्याग्दीवासीले उत्सवमय रुपमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।

जिल्लाभर ८२ मतदानस्थल र एक सय २० मतदान केन्द्र कायम भएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य वर्गमा विभाजन गरेको छ । १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र आठवटा सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको छ । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् ।

Leave a Comment