भोली बिहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमासम्पन्न गराउने उद्देश्यले म्याग्दीमा नेपाली सेना र शसस्त्र प्रहरी बल नेपालको संयुक्त सुरक्षा गस्ती गरिएको छ । सदरमुकाम बेनीबजारमा नेपाली सेना,सशस्त्र प्रहरी बलले मतदान केन्द्र तथा सार्वजनिक स्थानहरू गस्ती सहित सुरक्षा निगरानी बढाएको छ । नेपाली सेनाको गुरू गोरख गुल्म र शसस्त्र प्रहरी बलको गुल्म,म्याग्दीबाट मतदान सम्पन्न नहुँदासम्म सुरक्षा गस्ती सहितका कार्यहरु गरिने छ ।

शसस्त्र प्रहरी गुल्मका प्रहरी नायव उपरीक्षक लिलाबहादुर भुजेलले नेपाली सेना, नेपाल प्रहरीसँगको समन्वयमा निर्वाचन लक्षित सुरक्षा प्रदान गरिएको बताउनुभयो । म्याग्दीका सबै मतदानस्थलमा सुरक्षा प्रदान गर्ने गरी जिल्ला सुरक्षा समितिद्धारा जारी एकिकृत सुरक्षा योजना अन्तरगत सम्भावित जोखिमलाई मध्यनजर गदै फिल्डमा परिचालन गरिएको छ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, निर्वाचन प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना रहेको छ ।

सुरक्षा निकायले मतदानका क्रममा मतपेटिका सुरक्षित रूपमा मतदान केन्द्रसम्म पु¥याउने तथा मतदान सम्पन्न भएपछि सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिसम्म सुरक्षित ल्याउने जिम्मेबारी छ । यसअगाडी काठमाण्डौबाट आएको सेनाको विशेष टोलीले बजार तथा ग्रामिण क्षेत्रमा गस्तीमा खटिएको गुल्मपति सेनानी राकेश बस्नेतले बताउनुभयो । निर्वाचनमा सुरक्षा निकायलाई लामो, मध्यम र छोटो दूरीमा पैदल गस्तीका अलवा सवारी गस्तीमा पनि परिचालन गरिनेपछि मतदाताले समेत सुरक्षित महसुस गरेका छन् ।

जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर वर्गीकरण गरेको छ । म्याग्दीमा कुल ८६ हजार तीन सय ९७ मतदाता रहेका छन् । निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी तथा स्वयंसेवक गरी कुल १ हजार ७४ जना कर्मचारी परिचालन गरिएको छ ।










