म्याग्दीमा बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदानस्थल तयार गरिएको छ भने सुरक्षा व्यवस्था लगायतका सम्पूर्ण तयारी पूरा गरी मतदाताले भोट हाल्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भोलि बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि मतदान केन्द्रमा गर्नुपर्ने पूर्व तयारीका सम्पूर्ण कामहरु सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले बताउनुभयो ।

जिल्लाभर रहेका ८२ वटा मतदान स्थलका एकसय २० मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र गरी १ सय २२ मतदान केन्द्रमा निर्वाचनसम्बन्धी कुनै समस्या देखिएको छैन। जिल्लाभर मतदान केन्द्रमा तीनै तहको सुरक्षा निकायले कडा सुरक्षा दिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । मतदान स्थल आसपासका क्षेत्रमा सुरक्षा ब्यवस्था कडाई गरिएको छ । आजै मध्यरात १२ बजेदेखि जिल्लाभरको यातायातका साधनहरु बन्द गरिने छ ।

जिल्लाभर तोकिएको समयमै निर्वाचनमा सहभागि भएर मतदानमा सहभागि हुन अनुरोध गरिएको छ । तोकिएको मतदानस्थल टाढा भए आजै राती १२ बजेसम्म पुगिसक्नुपर्ने छ। मतदानको दिन सवारीसाधनमा आवतजावत गर्न निषेध गरिएको छ ।

जिल्लामा ८२ वटा मतदानस्थल र दुईवटा अस्थायी मतदान केन्द्रसहित १ सय २२ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ८ मतदानस्थललाई समान्य भनेर बर्गीकरण गरेको छ । म्याग्दीमा ८६ हजार तीनसय ९७ मतदाता छन् । तीमध्ये ४२ हजार तीनसय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एकजना अन्य मतदाता रहेका छन् ।












