---Advertisement---

म्याग्दीमा ५४.२७ प्रतिशत मत खस्यो

On: March 5, 2026 7:36 PM
Follow Us:

हरिकृष्ण गौतम । म्याग्दी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा ५४.२७ प्रतिशत मत खसेको छ । बिहिबार बिहान निर्धारित समयमा विना कुनै विवाद स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न भएको मतदानमा महिला २५ हजार ११८, पुरुष २१ हजार ७७४ सय १० र अन्य १ जना गरी कुल ४६ हजार ८९३ मत खसेको हो । जिल्लाको बेनी नगरपालिका सहित पाँचवटै स्थानीय तहमा रहेका मतदान केन्द्रबाट मतपेटिका संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताए ।


वैदेशिक रोजगार, बाहिरी जिल्लामा बसाइसराई तथा अन्य विभिन्न कारणले कुल मतको ४५.७३ प्रतिशत मत खस्न सकेन। जिल्लामा अनुमान गरेभन्दा ५–७ प्रतिशत मत कम खसेको छ । निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार बिहान ७ बजेदेखि जारी मतदानमा कुनैपनि मतदान केन्द्रमा विवादरहित तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले बताए । ‘मतदानलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद, शुक्रबार विहानदेखि मतगणनाको काम सुरु हुन्छ’ मुख्य निर्वाचन अधिकृत थापाले भने ।

सुरक्षा व्यवस्था चुस्त, दुरुस्त र प्रभावकारी बनाइएको हुँदा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया सम्पन्न भएपछि अहिले मतपेटिका संकलनको काम भइरहेको छ ।


बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाबाट राती १२ बजेसम्म मतपेटिका संकलन गरिने छ । मतपेटिका संकलनसँगै सर्वदलिय बैठकपछि मतगणनाको काम अगाडी बढ्ने छ । म्याग्दीका सबै मतदानस्थलमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठनागरिक, गर्भवती महिला, बिरामीलाई मतदान गर्नका लागि प्राथमिकता दिइएको थियो। विगतमा निर्वाचनमा जस्तै झडप तथा विवादजन्य गतिविधि यसपटक निर्वाचन अवधिभर नदेखिएको तथा विवादलाई समाधान गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए ।

म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्रमा कुल ८६ हजार ३९७ मतदाता रहेका छन् । जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमका अनुसार समानुपातिकको मतपेटिका छुट्टाछुट्टै राख्ने ब्यवस्था गरिएको छ । पहिलो चरणमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न गरेपछि समानुपातिकको मतगणना हुने छ । म्याग्दीमा राजनीतिक दल सहित स्वतन्त्र गरी १२ जना उम्मेदवार रहेका छन् ।

Leave a Comment