---Advertisement---

‘झुठा आश्वासन नबाँडौं, मिलेर गरौं’

On: March 7, 2026 4:04 PM
Follow Us:

रातो टिसर्ट, निलो ट्राउजर, खुट्टामा चप्पल अनि हातमा मोवाइल। यो हुलिया हो–महावीर पुनको। एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रबाट उम्मेदवारी दिएर विजेता बनेका पुन शनिवार विजयी भएपछि प्रमाणपत्र लिन जाँदा पनि अरुदिन झैं सामान्य पोशाकमा थिए।  

नत हौसिने, न मात्तिने, उनको त्यही स्वभाव हिजोका दिनमा मत माग्ने बेलामा मतदाता माझ जाँदा पनि देखिन्थ्यो। विजयी भएपछि आफ्नै शैलीमा उनी जितको प्रमाणपत्र थाप्न पुगेका थिए। जितको प्रमाणपत्र लिन जाँदा उनलाई बाटोमा भेटिनेले बधाई तथा शुभकामना त दिए, तर, महावीरले त्यसलाई सामान्य रुपमा लिए, बधाई दिनेलाई धन्यवाद समेत भनेनन्।

‘म कसैलाई बधाई दिदाँ नि दिन्न, लिँदा पनि लिन्न। म कसैलाई शुभकामना पनि दिन्न। किनकी त्यो बनावटी कुरा हो। सबैको कल्याण गर्ने हो। म पक्का गर्छु, अरुले के गर्छन थाहा छैन,’ उनले भने, ‘बधाई भन्ने नै हुँदैन। म कसैको बधाई पनि लिन्न र दिन्न पनि। दिनेले दिनुस। म जिन्दगीमा कसैलाई पनि दिन्न। शुभकामना पनि दिन्न। मैले शुभकामना दिएको र लिएको कसैले देख्नुपनि भएको छैन।’

शिक्षा मन्त्रीबाट एकाएक राजीनामा दिएर चुनावी मैदानमा निस्किएका पुनको निर्वाचनमा प्रचारको शैली पनि सामान्य थियो। न त तडकभडक, न झुटा आश्वासन। कसैलाई पनि झुठा आश्वासन बाड्न पनि उनले जानेनन। प्रचारका बेला भन्ने गर्थे, ‘म कसैलाई झुठा आश्वासन दिन्न।’ सामान्य परिवेशमा गाउँले शैलीमै उनले भोट माग्दै म्याग्दीका गाउँगाउँ पुगेर मतदातको मन जिते। त्यसैको परिणामस्वरुप भारी मतले उनले जीत हासिल पनि गरे।

पुनले सबैगरि २२ हजार ८ सय ५० मत ल्याएर जित हासिल गरेका हुन। उनका निकटतम प्रतिश्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ र कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८ सय ८४ मत ल्याएका थिए। मन्त्री हुँदा केही विधेयक ल्याउन चाहेको तर नपाएपछि सरकारमा रहिरहन नचाहेर उनी बाहिरिएका थिए। त्यो बेला ल्याउन खोजेका विधेयकलाई नै अघि बढाउनका लागि संसदमा आवाज उठाउने भनेर उनी चुनावी मैदानमा हानिएका थिए।  

‘विश्वविद्यालयमा राजनीतिकरण हटाउने, विद्यालय र कलेजमा पठनपाठनका लागि योग्य शिक्षक छान्नका लागि भिन्दै सेवा आयोग गठन गर्नेबारे ल्याउन चाहेका विधेयक ल्याउन नसकेपछि सरकार छाँडेको हुँ,’ जितपछि संचारकर्मीसँग पुनले भने, ‘अधिक राजनीतिकरण हुँदा शिक्षा क्षेत्र ध्वस्त भएको छ।’ विज्ञान प्रविधि क्षेत्रमा नवप्रवद्र्धनको विकास गर्नका लागि कोष गठन गर्नका लागि पहिल्यैदेखि आफु कराईरहेको भएपनि सुनुवाई नभएको उनले दुखेसो पोखे।  

‘पहिलेका सरकारलाई धेरै नै अनुरोध गरेको हुँ। म आफै मन्त्री भएपछि त्यही अध्यादेश ल्याउन खोजे, तर पनि सकिन। आफैले चुनाव लडेर संसदमा पुगेर होहल्ला नगरेसम्म सम्भावना रहेन, त्यसपछि चुनावी मैदानमा होमिएको हुँ,’ उनले भने, ‘ती विधेयक ल्याउन सकेको भए म चुनाव लड्ने पनि थिइन। म कसैको विरोध गर्न र कसैलाई हराउन आएको होईन। मैले ल्याउन खोजेका तीनवटा अध्यादेश ल्याउन सकेको भए यहाँ आउने थिइन। चारमहिने अवधिमा शिक्षामा ल्याउन खोजेको सुधार सम्भव नभएपछि चुनावी मैदानमा उत्रिएको हुँ।’  

उनले अबको बाटो नै सबै मिलेर सुधार गर्ने भन्ने रहेको बताए। ‘मैले गाउँगाउँमा गएर भनेको के छु भने चुनाव जितेर संसदमा गएपछि म काठमाडौंमा हराउँदिन। विशेष कामले बाहेक म काठमाडौं बस्दिन, अरुबेला म गाउँगाउँमा आउँछु,’ बाचा बाध्दै उनले भने, ‘स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नेछु। पालिका, जिल्लाका लागि के के काम गर्नुपर्छ र त्यसका लागि बजेट कहाँबाट ल्याउने भनेर छलफल गर्ने हो, मिलेर काम गर्ने हो।’  

चुनावको प्रचारप्रसारका क्रममा गाउँमा मतदातालाई कुनैपनि आश्वासन नदिएको उनले बताए। ‘मेरो वाचा के छ भने म जिल्लामा आएर डुलेर सबैसँग भेटघाट गरेर र छलफल गर्ने हो। अहिले मैैले आश्वासन दिएको छैन। वाचा गर्दा पनि धेरैले पत्याएननु,’ पुनले भने, ‘यसअघिका चुनावमा जितेका उम्मेदवार पछि फर्केर गाउँ आएका रहेनछन। त्यही भएर मलाई पनि आउँदैनन भन्ने धारणा बनाएका रहेछन।’ उनले मतदातासामु गरको दोश्रो बाचा पनि सुनाए। ‘म काठमाडौंमा हराए भने मलाई जहाँ भेटिन्छ, त्यही लौरोले ठोकिदिनु, तर सास चाँही राखिदिनु, हातखुट्टा भाचिदिए हुन्छ भनेको छु। म फर्केर आउने वाचा गर्छु। फर्केर नआए लौरोले ठोकेपनि हुनेछ,’ उनले भने।  

जिल्लाका नागरिकका लागि काममा सहजीकरण गर्न म्याग्दीको बेनीमा सम्पर्क कार्यालय राखिदिने पनि उनले आश्वासन दिए। ‘गाउँगाउँका नागरिक कुनै कामले सदरमुकाम झर्छन। कागजपत्र बनाउनका लागि गाउँबाट बेनी आएका कुनै गाउँलेलाई समस्या परेमा महावीर पुनको सम्पर्क कार्यालयमा सम्पर्क गर्न सकिनेछ। त्यहाँका दुईजना कर्मचारीले गाउँलेलाई सघाउनेछन, गाउँलेका लागि फारम भरिदिने र निवेदन लेखिदिने छन,’ उनले भने।  

म्याग्दीका बासिन्दालाई आश्वासन दिँदै गाउँमा बस्दा कुनै समस्या परेमा वा सोध्नुपरेमा सिधै आफुलाई सोध्न पनि उनले अनुरोध गरे। ‘मैले मेरो फोन नम्बर पनि दिएको छु। जानेको कुरा बताईदिनेछु, नजाने अरुलाई सोधर भएपनि भनिदिने छु। अब मिलेर काम गर्ने हो। एकआपसमा खुट्टा तान्ने होईन,’ उनले भने।  

निर्वाचनमा जित हासिल गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाउँदै पुनले भने, ‘कोही नि जालोमा नफस्नु, चाप्लुसीबाट बचेर काम गर्नुपर्छ। नेपालमा चाकरी र चाप्लुसे गर्ने जुन चलन छ। त्यसले काम गर्दैन। यस्तोकुराबाट बच्नुपर्छ। सबैलाई मौका दिनुपर्छ, राम्रो काम नगरेमा उनीहरु (रास्वपा) पनि हराउनेछ, त्यो बेला नयाँ शक्ति आउनेछ।’ सन्तोष पोखरेल

Leave a Comment