प्रतिनिधिसभा सदस्य निर्वाचनमा ९ जना उम्मेदवारले जमानत समेत जोगाउन असफल भएका छन् । स्वतन्त्र उम्मेदवार महावीर पुनले २२ हजार ८ सय ५० मत ल्याएर विजयी हुदाँ प्रतिस्पर्धामा रहेका ९जनाले जमानत जोगाउन आवश्यक पर्ने मत ल्याउन असफल भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीका अनुसार नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ३ हजार पाँच सय २९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले १ हजार ५ सय ३०, राप्रपाका डम्बर बहादुर सुवेदी २५२, नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरेले १८५, श्रम संस्कृति पार्टीका विनोद रानाले १२७, प्रगतिशिल लोकतान्त्रीक पार्टीका देवेन्द्र कामी ३८, नेसनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजाले २७, जनमोर्चाका छेमबहादुर विकले २२ र मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामाले ५ मत पाएका छन् ।
जमानत जोगाउन हरेक उम्मेदवारले ४३ सय १६ मत ल्याउनुपर्छ । जमानत गुमाएका दलित समुदायका उम्मेदवारको मनोनयदर्ताको ५ हजार र अन्य जातिको १० हजार धरौटी समेत जफत भएको छ । निर्वाचन ऐनको परिच्छेद–१० अन्तर्गत दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।
म्याग्दीमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपाका उम्मेदवारले धरौटी रकम जोगाएका छन्। नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९ सय १९ मत, नेपालाी कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार छ सय ७६ ल्याएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले बताए । जिल्लामा कुल ८६ हजार ३ सय ९७ मतदाता रहेकोमा ४६ हजार ३ सय ३६ मत खसेको थियो भने ४३ हजार १ सय ६० मत सदर भएको थियो । प्रत्यक्षतर्फ ३ हजार एक सय ७६ मत बदर भएको थियो ।









