---Advertisement---

म्याग्दीमा समानुपातिकमा रास्वपा पहिलो, नेकपा एमाले दोस्रो

On: March 8, 2026 11:15 AM
Follow Us:

म्याग्दीमा समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पहिलो दल बनेको छ । गत बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा समानुपातिक तर्फको मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाले १९ हजार ९५७ मत प्राप्त गरी पहिलो भएको हो मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले दिएको जानकारी अनुसार नेकपा एमालेले ९ हजार ४ सय ५७, नेपाली कांंग्रेसले ७ हजार ५ सय ९४, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले ४ हजार १ सय ६२ मत प्राप्त गरेका छन् ।

श्रम संस्कृति पार्टीले १ हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले ७ सय ६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले १ सय ७७ मत पाएका छन् । जिल्लामा जम्मा मतदाता ८८ हजार दुई सय ९८ रहेकोमा समानुपातिक तर्फ ४७ हजार ६ सय १६ मत खसेको मध्य एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मत मतगणना भएको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताउनुभयो । जिल्लाका सबै पालिकाहरुमा रास्वपाले अग्रता लिएको थियो ।

परम्परागत दलहरुले प्रत्यक्षमा जस्तै समानुपातिकतर्फ राम्रो मत पाउन सकेनन् । यसपटक दलको कोर एरिया भनिएका वडाहरुमै प्रत्यक्षमा स्वतन्त्र र सामानुपातिकमा रास्वपाले लोकप्रिय मत प्राप्त गर्न सफल भएको छ । प्रत्यक्ष तर्फ २२ हजार ८ सय ५० मत प्राप्त गरी स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी हुनुभएको थियो । रास्वपाले स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गरेपनि प्रत्यक्षतर्फ चुनाव चिन्ह रहेकाले मत खसेको थियो ।

समानुपातिक तर्फको मतगणना सकिएसँगै जिल्लामा निर्वाचन सम्बन्धित सम्पूर्ण कामहरु सकिएको छ । दुबैतर्फको मतगणना सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृत थापा, प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य सहित सुरक्षा निकायका प्रमुखको उपस्थितीमा स्वच्छ, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय, मतदाता, पत्रकार लगायत जिल्लावासीलाई धन्यवाद दिइएको थियो ।

Leave a Comment