प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ।
कुल ८२ लाख ९३ हजार ६३ मत गणना हुँदा रास्वपा ४० लाख ३ हजार ५६१ मतसहित अगाडि रहेको छ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार देशका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना समाप्त भइसकेको छ भने केही जिल्लामा अझै गणना सुरु हुन बाँकी छ।
प्राप्त जानकारी अनुसार काठमाडौं जिल्लाका १ देखि १० सम्मका सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ। त्यस्तै, भक्तपुरका १ र २ तथा ललितपुरका १ र ३ नम्बर क्षेत्रको गणना पनि सकिएको छ।
अन्य जिल्लाहरूमा धनुषा ३, महोत्तरी १, सर्लाही २, बाराका चारवटै क्षेत्र (१, २, ३ र ४), रौतहट १, र पर्साका १, २ र ४ नम्बर क्षेत्रको गणना कार्य पुरा भएको छ। पहाडी तथा हिमाली जिल्लाहरू रसुवा, सिन्धुली (१ र २), दोलखा, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, रोल्पा, रुकुम पश्चिम, अर्घाखाँची, पर्वत, तनहुँ, कास्की, लमजुङ, मुस्ताङ, म्याग्दी, मनाङ र बागलुङमा पनि गणना समाप्त भएको छ।
यसैगरी कञ्चनपुर (१, २ र ३), कैलाली १, झापा ३, मोरङ (२, ३, ४ र ६), सुनसरी ३, उदयपुर २, गुल्मी १, बाँके (१, २ र ३), कपिलवस्तु २, दाङ (२ र ३), नवलपरासी पूर्व (१ र २) र स्याङ्जा १ मा पनि मतगणना सकिएको विवरण प्राप्त भएको छ।
केही जिल्लाका निश्चित क्षेत्रहरूमा भने अझै मतगणना सुरु हुन बाँकी देखिएको छ। संखुवासभा, इलाम १, अछाम २ र बाजुरामा गणना सुरु हुन सकेको छैन। त्यस्तै गोरखाका १ र २ तथा धनुषाका १ र २ नम्बर क्षेत्रमा पनि समानुपातिकतर्फको मतगणना सुरु हुन बाँकी रहेको छ। नागरिक














