म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा मिम पूर्जा सर्वसम्मत निर्वाचित हुनुभएको छ । गएको फागुन ५ गते सदरमुकाम बेनीमा सम्पन्न भएको छैठौ अन्तर्राष्ट्रिय महाधिवेशनबाट यूरोपको नेदरल्याण्डमा ब्यवसाय गर्नुहुने पूर्जाको मोनाको २०२६–२०२८ कार्यकालका लागि सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा ई. नन्द गर्बुजा (यूएई), हरि रामजाली (अष्ट्रेलिया), किसन जी.सी. (यूके),राम बहादुर खड्का (जापान) र दीपक के.सी. (जापान) लाई चयन गरिएको छ ।

त्यसैगरी महासचिवमा सुवास रामजाली (यूएई), सचिवहरू दीपु मगर (पोर्चुगल),सुवास दुतराज (क्यानडा),स्तुती सुवेदी (यूके) रहनुभएको छ । महाधिवेशनबाट कोषाध्यक्षमा नरेन्द्र फगामी (कतार), सह–कोषाध्यक्ष पूर्ण रोका (मलेसिया), यूवा संयोजक प्रेम सुवेदी (अमेरिका),महिला संयोजकनैना पुन (बेल्जियम) रहेको महासचिव राम्जालीले बेनीअनलाइनलाई बताउनुभयो । यसअगाडीको कार्यसमितिमा सल्लाहकार रहेका अध्यक्ष पुर्जाको पुख्र्यौली घर म्याग्दीको मंगला गाउँपालिका ३ बरंजामा पर्छ ।

महाधिवेशनमा प्रमुख अतिथि मोना संस्थापक अध्यक्ष सुवासकुमार श्रेष्ठ, बिशिष्ट अतिथि निर्वाचन समितिको संयोजक एवम् संरक्षक योगेन क्षेत्री, संरक्षक ओमनारायण जुग्जाली, संरक्षक चक्रबहादुर थापाले मोनामार्फत गरिएका सामाजिक एवम् मानवीय सेवा, संस्थागत विकासको चर्चा गर्नुभएको थियो।
भाद्र २३–२४ को जेनेजी आन्दोलनका कारण सिर्जिएको विषम परिस्थितिका कारण स्थगित भएको महाधिवेशनलाई निर्वाचनको आचारसंहिताको पालना गरी सिमिति उपस्थितीमा गरिएकोमा निर्वाचनको नतिजा सार्वजनिक भएपछि सार्वजनिक गरिएको थियो । मोनाका निर्वतमान अध्यक्ष ददीवल खड्काले आफ्नो कार्याकालमा रचनात्मक सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं मोनाका अपुरो कामलाई पूर्णता दिन समेत नयाँ कार्यसमितिलाई अनुरोध गर्नुभयो ।

सोही अवसरमा नवनिर्वाचत अध्यक्ष पूर्जाले मोना हाउस, मोनाको राष्ट्रि«य कार्यकारी समिति विस्तार सहित संस्थागत र जिल्लामा लगानी भित्राउने गरी सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गरिने बताउनुभयो । उहाँले मोनामार्फत एकल र सामुहिक लगानी जिल्लामा भित्रिएको बताउँदै थप लगानीका लागि सबै सरोकारवाला निकायसँगको समन्वयमा काम गर्ने बताउनुभयो ।
अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष पूर्जा सहितको नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवम् मोनाका संरक्षक योगेन क्षेत्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । महाधिवेशनको अध्यक्षता निर्वतमान अध्यक्ष खड्का, कोषाध्यक्ष नरेन्द्र फागमीले सञ्चालन गर्नुभएको थियो ।












