हरिकृष्ण गौतम
प्रकाश मावि बेनीमा कक्षा ९ मा अध्ययनरत अनिल किसान मंगलबारदेखि ट्राफिक स्वयंसेवक बनेर सदरमुकाम बेनीको चोकमा खटिएका छन् । उनीसँगै पढ्ने पुष्पा विकेले स्वयंसेवक बनेर सडक प्रयोकर्तालाई ट्राफिक नियमको बारेमा जानकारी गराउने नयाँ जिम्मेबारी पाएकी छन् । अनिल र पुष्पा जस्तै प्रकाश माविका २० छात्रछात्राले पार्किङ,भीडभाड र सवारीचाप हुने समयमा पैदलयात्रीलाई सहज, एकतर्फी नियमको पालना, विद्यालयको समयमा विद्यार्थीलाई सहयोग गर्ने गरी खटिएका छन् ।

जिल्ला ट्राफिक कार्यालय म्याग्दीले विद्यार्थीलाई स्वंयमसेवकको रूपमा खटाएर ट्राफिक नियमको पूर्णपालना गराउने अभियानको सुरुवात गरेको प्रमुख विशाल परियारले बताए । ‘विद्यार्थीको पढाइलाई असर नगर्ने गरी हामीले सहकार्य गरेका छौ, यो अभियान निरन्तर र अन्य विद्यालयसँग समेत जोडिने छ’ ट्र«ाफिक प्रमुख परियारले भने । उनले साँधुरो बजारमा एकतर्फी पार्किङ नियम उल्लंघन भएको, सडक आसपासका पैदलयात्री अवातजावत गर्ने, एकतर्फी रुटको उल्लंघनमा विद्यार्थीसँगै ट्र«ाफिक र प्रहरीलाई परिचालन गरिने छ ।

सदरमुकाममा स्वयंसेवकको जिम्मेबारीमा खटिएका विद्यार्थीलाई सचेतनामुलक जानकारी समेत गराइने छ । ‘ट्राफिक नियमको पालना गराउन स्वयंसेवकको भूमिका राम्रो देखिन्छ,बिनाबर्दी ट्राफिकको काम गरिरहेकाको साथमा प्रहरी समेत हुन्छन्’ ट्र«ाफिक प्रमुख परियारले भने । सचेतनामुलक अभियानमा बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शंकर पौडेल सहित नगर प्रहरीको समेत उपस्थिति रहेको थियो । आधारभूत ट्राफिक तालिम दिएर सदरमुकाम बेनीमा निजि तथा सामुदायिक विद्यालयसँग समेत सहकार्य गर्ने बताइएको छ ।














