ध्रुवसागर शर्मा
वसन्त ऋतुको सुरुआतसंगै म्याग्दीको वन पाखाहरु सिमल फुलेर राताम्यै भएका छन् । लेकाली क्षेत्रहरुमा ढकमक्क फुलेका लालीगुराँस र बेसीका खर्क तथा पाखाहरुमा राताम्यै फुलेका सिमल फुलसँगै कोइलीको कुहुकुहु आवाजले वातावरणलाई रंगिन र संगीतमय बनाइदिएको छ ।
कालीगण्डकी,रघुगंगा र म्याग्दी नदीको वारीपारीका क्षेत्रहरुमा अग्ला अग्ला रुखहरुमा फुलेको सिमलको सौन्दर्यलाई हेर्न सडकमा सवारी साधनहरुमार्फत यात्रा गरिरहेका यात्रुहरु समेत रोकिएर अवलोकन गर्ने गरेका छन् । मन प्रफुल्ल बनाउँदै यात्रालाई अगाडी बढाइरहेका भेटिन्छन् ।
सडक हुँदै बेनी र जोमसोम र बेनी दरबाङ यात्रा गर्ने आन्तरिक एवं विदेशी पर्यटक पनि सिमलको फूल हेर्दै कोइलीको आवाज सुन्दै रमाइरहेका छन् । कतिपय यस्तो वातावरणमा एकान्तको मज्जा लिन पनि आएका छन् ।

सिमलको फूलको रातो रङमा गाढा खैरोमा कलेजी सिमाना देखिन्छ । भित्रपट्टि गाढा रातो रङका पाँच वटा पुष्पपत्र हुन्छन् । वन तथा वातावरणका अध्येता चन्द्रमणि सापकोटाका अनुसार म्याग्दीमा कडा रातो र रातोमा हल्का पहेँलो रङ मिसिएको फूल फुल्ने दुई जातका सिमल पाइन्छ ।
यो सिमल फूल्ने मौसम भएकाले म्याग्दीका वनपाखाहरु सुन्दर देखिएका छन् । केही समयपछि लाली गुराँस फुलेर मनमोहक देखिने यहाँका वन पाखामा अहिले रातो रङमा फुलेको सिमलले सुन्दर बनाइदिएको छ । बाटो किनारमा ढकमक्क फूलेको फूल देखेपछि मानिसहरु सवारी रोकेर सिमलसँगै तस्बिर लिएर जाने गरेका छन् ।
सिमल दुर्लभ नै वनस्पति त होइन तर अन्य वनस्पतिझैँ जताततै पाइने सर्वसुलभ पनि होइन । समुद्री सतहदेखि एक हजार ४०० मिटरको उचाइमा पाइने सिमलको वैज्ञानिक नाम ‘बम्बाक्स सेइबा’ हो । वनस्पतिविद् कमल मादेनका अनुसार सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तक अनुसार स्वीडेनका वनस्पतिविद् एवम् जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए ।
नेपालसहित दक्षिण एसियाका सबैजसो देश, चीन, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स आदि मुलुकमा सिमल पाइन्छ । मध्यरातपछि बिहानसम्ममा फक्रने सिमलको फूलको जैविक विशेषता हो ।
फूलको रस चुस्न रातमा चमेरो र बिहानीपख चराहरू झुम्मिन्छन् । सिमलको फूल मौरीको पनि आहरा हो । ‘बर्डस् एसोसिएटेडविद् रेड सिल्क–कटन ट्री, अम्रावती डिष्ट्रिक्ट’ महाराष्ट्र शीर्षकको २०१९ जनवरीमा प्रकाशन भएको अनुसन्धानात्मक लेखका अनुसार सिमलको फूलमा ८१ प्रजातिका चरा आकर्षित भएको पाइएको थियो ।
सिमल फूलको पुष्पपत्रलाई तरकारी तथा अचार बनाएर खाने प्रचलन रहेको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९१ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार अघिल्लो पुुस्तासम्म कपासबाट बनेका कपडा सहजरुपमा उपलब्ध नहुँदा सिमलको भुवा सङ्कलन गरेर सिरानी, सिरक, डसना बनाउने गरिन्छ ।
हिजोआज सिमलको भुवा प्रयोग कमै मात्र हुन्छ । कपास सहजै पाइन थालेपछि सिमलको भुवाको प्रयोग घटेको हो । सिमलको बोक्रालाई दहीमा मिसाएर उपभोग गर्दा शरीरमा गर्मीका कारण उत्पन्न हुने स्वास्थ्य समस्या निको हुने सहायक वन अधिकृत सापकोटाले बताउनुभयो । सिमलको डाँठ र मुना लाग्दै गरेको पातमा चिप्लो मात्रा धेरै हुन्छ ।
वनस्पती र चराको सम्बन्धको अध्ययन गर्ने हो भने सिमलको रुखमा मात्र गिद्ध र चिल प्रजातिका पन्छीले गुँड लगाउने गर्दछन् । यी पन्छीले आफ्ना बासस्थानका लागि सिमलको रुख सुरक्षित ठान्ने गर्दछन् । अग्ला हुने सिमलको रुखमा बनाएको गुुँडलाई गिद्ध र चिलले सुुरक्षित मान्ने गर्छन् ।
तिम्लाई छोडी हिँडेको दिन
रोएको मन बुझाउनै सकिन
सिमल फुुलेको
भुल्यौ क्यारे मायाले सँगै डुुलेको’
गायकद्वय ऋषि अधिकारी र शर्मिला गुरुङको स्वर रहेको यो गीतको टुक्काले त बिछोडको पल सम्झाउँछ ।











