---Advertisement---

जनमतसँगै युवाको आशा: भ्रष्टाचार नियन्त्रण र डिजिटल सेवामा जोड

On: March 11, 2026 2:10 PM
Follow Us:

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री नीति, डिजिटल सेवा, सन्तुलित र पारदर्शी विकास अब बन्ने सरकारको प्राथमिकतामा रहने आशा यो पुस्ताले व्यक्त गरेको छ ।

गत भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध भएको ‘जेनजी’ प्रदर्शनमा सहभागी भएर घाइते हुनुभएका २५ वर्षीय मदन कार्की अब बन्ने सरकारले युवापुस्ताको माग र मर्मलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुहुन्छ । निर्वाचनमा मतदान गरेर फर्किएपछि उहाँ अब बन्ने सरकारप्रति सकारात्मक परिवर्तनको आशा राखेर आफू निर्वाचनमा सहभागी भएको बताउनुहुन्छ ।

कार्की सरकार र ‘जेनजी’ आन्दोलनका समूहबीच भएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने पक्षमा हुनुहुन्छ । “नेपालीले आफ्नै देशभित्र सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनोस् । सुशासन कायम होस् र भ्रष्टाचारको अन्त्य होस् । अब बन्ने सरकारले आन्दोलनका क्रममा भएका घटनाका दोषीलाई कारबाही गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।

उक्त आन्दोलनका क्रममा घाइते हुनुभएकी २० वर्षीया लिजा अधिकारी अहिले पनि अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँ अस्पतालको शय्याबाटै अब बन्ने सरकारले युवाका माग कार्यान्वयन गर्ने अपेक्षा व्यक्त गर्नुहुन्छ । अधिकारी भ्रष्टाचार अन्त्य, पारदर्शिता र सुशासनका मुद्दालाई सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले आन्दोलनमार्फत उठाएका माग पूरा हुनेमा विश्वास छ । सुशासनसँगै देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले ध्यान दिनुपर्छ ।”

रामेछाप स्थायी घर भई काठमाडौँ बस्दै आउनुभएकी २२ वर्षीया सुजता कार्कीका अनुसार जेनजी आन्दोलनपछि युवामा राजनीतिप्रतिको चासो बढेको छ । अब बन्ने सरकारले युवाका लागि ‘पार्टटाइम’ रोजगारीको व्यवस्था गर्ने र विकट तथा पिछडिएका क्षेत्रलाई पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “देशमा रोजगारीको अवसर हुनुपर्छ । विदेश जानुपरे पनि कामका लागि होइन, भ्रमणका लागि मात्र जाने अवस्था बनोस् ।”

दोलखाका २३ वर्षीय विशाल बुढाथोकी अब बन्ने सरकारले नीतिगत सुधार र पूर्वाधार विकासलाई गति दिनुपर्ने धारणा राख्नुहुन्छ । गाउँ र सहरबीचको विकास असन्तुलन हटाउन सरकारले प्राथमिकता दिनेमा उहाँ विश्वस्त हुनुहुन्छ । सहरमा विकास देखिए पनि गाउँमा सो स्तरको विकास नभएको उहाँको तर्क छ । विदेशमा अध्ययन गर्ने योजना बनाउनुभएका बुढाथोकी अध्ययनपछि स्वदेश फर्केर व्यवसाय गर्ने वातावरण बन्ने अपेक्षा गर्नुहुन्छ ।

काठमाडौँका २७ वर्षीय विनय ढुङ्गाना डिजिटल सरकार (डिजिटल गभर्नेन्स) र उत्पादनमुखी अर्थतन्त्रमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारी सेवा प्रवाह सरल र सहज बन्ने अपेक्षा छ । सामान्य कामका लागि भनसुन वा अतिरिक्त रकम तिर्नुपर्ने अवस्था अन्त्य हुनेमा म विश्वस्त छु ।”

दोलखाका २४ वर्षीय किरण बुढाथोकी जनताले परिवर्तनका लागि मत दिएको स्मरण गराउँदै प्रणाली विकास भएपछि मात्र विकास प्रभावकारी हुने बताउनुहुन्छ । पर्यटन, जलविद्युत् र कृषिलाई सम्भावनाको क्षेत्रका रूपमा अघि बढाउनुपर्ने र राजनीतिक दलले आफ्ना घोषणापत्र कार्यान्वयन गर्नुपर्ने उहाँको माग छ ।

खोटाङकी १९ वर्षीया सलिना राई युवा विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नु अबको सरकारको मुख्य जिम्मेवारी भएको बताउनुहुन्छ । स्वदेशमै भरपर्दो रोजगारी नहुँदा युवा अन्योलमा परेको उल्लेख गर्दै उहाँ अबको सरकारले रोजगारी सिर्जना गर्नेमा आशावादी हुनुहुन्छ । रासस

Leave a Comment