हरिकृष्ण गौतम
राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले प्रतिमा निर्माण गरेको छ ।म्याग्दीमा जन्मिएर राष्ट्रिय महिला टिमको नेतृत्व गरी उपाधि जिताउन खेल्नुभएको योगदानको उच्च सम्मान स्वरुप म्याग्दीले रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा जन्मनुभएकी शाहीको प्रतिमा निर्माण गरिएको हो ।

सदरमुकाम बेनीमा पर्यटकलाई समेत सहज हुने स्थानमा राख्ने गरी निर्माण भएको प्रतिमाको बेनी नगरपालिकाका मेयर सुरत केसीले बुधबार एक कार्यक्रमका बिच अनावरण गर्नुभयो । प्रमुख अतिथि मेयर केसीले सदरमुकाम बेनीको कालिपुल, बसपार्क क्षेत्रमा राख्ने गरी स्थानको छनौट भइसकेको अवस्थामा नगरपालिकाले समेत उक्त कार्यमा सहयोग गर्ने बताउनुभयो ।

‘अरुणा शाहीले नेपालका लागि पदक जितेर शिर उच्च बनाउनुभएको छ,नयाँ पुस्ताका खेलाडीका लागि प्रेरणाको स्रोत हुनुहुन्छ’ मेयर केसीले भन्नुभयो । जिल्लामा भित्रिने पर्यटकलाई समेत आर्कषित गर्न सकिने भएकाले आगामी दिनमा जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अन्य खेलाडीको पनि प्रतिमा निर्माण गरी सम्मान गरिने मेयर केसीको भनाई छ ।

सोही अवसरमा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले म्याग्दीमा पहिलोपटक खेलाडीको प्रतिमा निर्माण भएको बताउँदै भलिबल खेलका लागि आवश्यक पर्ने कवड हलसहित खेलाडी प्रोत्साहनमा समेत निरन्तर सहयोग गरेको बताउनुभयो । कार्यक्रममा जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष् तेजेन्द्र बानियाँ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम, ज्ञानबाबु मावि पोखराकी संस्थापक शुभकन्या गुरूङले मन्तब्य राख्नुभएको थियो ।

सम्मान तथा प्रतिभा अनावरण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले खेलकुदमा सिमित स्रोत र साधनका बिच राष्ट्रि«य महिला टोलीकी क्याप्टेनको सम्मानसँगै भावि पुस्तालाई समेत प्रेरणा मिल्ने भएकाले सहयोग जुटाएर निर्माण गरिएको बताउनुभयो ।

‘इतिहास जसले बनाउँछ उसकै लेखिन्छ,अरुणाले महिला भलिबलको क्षेत्रमा सधै सम्झिने गरी योगदान दिनुभएको छ ।’’ अध्यक्ष श्रेष्ठले सिमित स्रोत साधनका बाबजुत पनि समितलिे खेलाडीलाई निराश नबनाएको बताउँदै राष्ट्रि«य टिमको म्याग्देली चेलीले नेतृत्व गर्नु ठूलो सफलता भएकाले पुस्तौ पुस्तासम्म जोगाएर राख्ने गरी बेनीबजारको प्रवेशद्धारादेखि कालिपुल बसपार्कसम्म नगरपालिकासँग समन्वय गरी प्रतिमालाई राखिने बताउनुभयो ।

सोही अवसरमा सम्मानित क्याप्टेन शाहीले जन्मभूमीले खेलसँगै प्रतिमा बनाएर थप जिम्मेबारी थपिदिएकोृ बताउनुभयो । ‘मैले भलिबलबाट जिल्ला र राष्ट्रको नाममा धेरै खेल खेलेको छु, अब पनि निरन्तर सक्रिय नै हुन्छु’ क्याप्टेन शाहीले भन्नुभयो । प्रतिमा बनाउन विभिन्न क्षेत्रबाट चन्दा सहयोग जुटाएर करिब ९ लाख खर्च भएको छ ।

सन् २०१३ मा काठमाडौँमा भएको माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएकी शाहीले टोलीको कप्तानी सम्हालेपछि नेपालले ३० बर्षसम्म अन्तराष्ट्रि«यस्तरको उपाधिबाट बन्चित भएको अवस्थामा एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत पदक, काभा वुमन्स भलिबल च्यालेन्ज कपमा कांस्य पदक, काभा वुमन्स नेसन्स लिगमा नेपालले इतिहासमै पहिलो पटक भारतलाई जितेको तथा १९औं एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको थियो ।

डेढ दशकदेखि भलिबलमा सक्रिय शाहीले ’एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड’ लगायत थुप्रै प्रतिष्ठित सम्मान प्राप्त गर्नुभएको छ । शाही अहिले पनि नेपाली टिमको कप्तान हुनुहुन्छ । प्रतिमा अनावरण तथा सम्मान कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष श्रेष्ठ, स्वागत सदस्य सोहन श्रेष्ठ र सञ्चालन कोषाध्यक्ष नगेन्द्र मल्लले गर्नुभएको थियो ।





















