बेनी नगरपालिका–६,अर्थुङेस्थित जामुनाखर्कका ९७ बर्षिय लालबहादुर हमाल विगतमा चुनाबमा गरिएका प्रतिबद्धता इमान्दारीपूर्वक कार्यान्वयनको प्रतिक्षामा छन्। गएको फागुन २१ गते मतदान गरेपछि हमालले बुढेशकालमा नातीको सहयोगमा भोट हाल्न आएपनि भोट माग्ने बेलामा दिएको आश्वासनहरू पूरा नहुदाँ गाउँका समस्या समाधान नभएको गुनासो गरे

बृद्ध हमालजस्तै बेनपा–२,ज्यामरूककोटका दृष्टिविहिन आइतबहादुर दर्जीलाई घरमै आएर नेताहरूले अहिलेसम्म दिएको चुनावी आश्वासन एउटा पनि पूरा भएको छैन। बेनपा–५ पुलाचौरको जनकल्याण माविमा मतदान गरेका ९२ वर्षिय दधिलाल पौडेलले ज्यानकै जोखिम मोलेर भोट हालेपनि चुनावपछि सामान्य समस्या समाधानमा समेत चासो नदिएको बताए । उनले वृद्धवृद्धाका धेरै समस्याहरूका बारेमा चुनाव अगाडीका आश्वासनले सधै भोट हाल्ने बेलासम्म पोलिरहने बताए ।

रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका १०१ बर्षिय रि बहादुर छन्त्यालले विगतका बर्षहरूमा गरेको गुनासो पूरा नभएको परिवारसँग गुनासो गरेका थिए । जिल्लाभर लौरो टेकेर मतदान केन्द्रमा भोट हाल्न पुगेकाले वृद्धावस्थाको अप्ठ्यारो बिर्सेर मतदान गर्न पुगेको बताउँदै उपचार खर्च, गाउँमै राम्रो उपचार हुने ठाउँ, समस्याहरु सबै समाधान भएमा भोट हालेको प्रयोग हुने बताउँदै अव पनि भोट खेर गए अर्कोपटक भोट हाल्न नआउने बेनपा–६, थाकनपोखरीमा भेटिएका बृद्धाहरूको गुनासो थियो । ‘अर्को पटक खै के हो के हो, यस पटकको पालो किन खेर फाल्ने भनेर मत दिए’ एक बृद्धाले भनिन् ।

विगतमा जस्तै यसपटक पनि जितेर गएपछि जनताको अपेक्षामाथि कुठाराघात नगरुन र आफूले निर्वाचनमा गरेका प्रतिबद्धताको इमान्दारीपूर्वक कार्यान्वयन गरुन्, भन्ने धेरैको आवाज रहेको छ । जिल्लाभर पहिलोपटक मतदान गर्नेदेखि शताब्दी नजिक पुगेका मतदाताहरूको भनाई नै चुनावी प्रतिबद्धता पूरा नै मतको सम्मान रहेको बताएका थिए। जेन–जी विद्रोहका कारण नियमितभन्दा दुई वर्षअघि नै हुन लागेको निर्वाचनमा मतदातालाई रिझाएर परिणाम आफ्नो पक्षमा पार्न घरदैलोमा पुगेका दल र उम्मेदवारलाई यसपटक विगतका कमीकमजोरी स्वीकार गर्दै नयाँ बाचा÷प्रतिबद्धतालाई कार्यान्वयन नगरी अर्कोपटक घरमा नआउने समेत सचेत गराएका थिए ।












