---Advertisement---

सन्तानले फेरे अभिभावकले भोट

On: March 11, 2026 6:49 PM
Follow Us:


धुब्रसागर शर्मा÷हरिकृष्ण गौतम
म्याग्दीमा निर्वाचनको मतगणना सकिएपनि अझै परम्परागत दलका नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उर्लिएको मतका बारेमा बहस गर्ने गरेका छन् । पार्टी कार्यालयदेखि चिया पसलसँगै अन्य कार्यक्रमहरुमा समेत आफ्नो बलियो पकट रहेको क्षेत्रमा मतदाताले दिएको मतको चर्चा हुने गरेको छ ।

दलिय पकट भएको क्षेत्रका मतदाताले निकै कमजोर मत दिएसँगै १० हजारसम्म कटाउन नसकेका नेकपा एमाले, नेपाली कांग्रेस र जमानत समेत जफत भएको नेपाली कम्युनिष्ट पार्टीका नेताकार्यकर्ताले यसपटक प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार र समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको मत परिणाम सुन्दा आश्चर्य चकित भएका छन् ।


गएको फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीले एउटा नयाँ तर रोचक भाष्य रचना गरिदिएको छ । अभिभावकको खटनपटन र निर्देशनमा रहने सन्तानहरु परिआएको खण्डमा आफ्नो विचार र बुझाइले अभिभावकको सोचाइ र परम्परावादी मान्यतालाई नै परिवर्तन गरिदिनसक्छन् भन्ने नयाँ भाष्य रचना गर्न म्याग्दी सफल भएको हो ।


लाहुरेहरुको जिल्ला भनेर समेत चिनिने म्याग्दीका अधिकांश युवाहरु अध्ययन,रोजगारी र व्यापार व्यवसायका लागि विदेशमा छन् । तिनै विदेशमा रहेका युवाहरुले यस पटकको निर्वाचनमा गाउँमा रहेका आफ्ना अभिभावकहरुको भोट परिवर्तन गराई स्थापित राजनीतिक दलका उम्मेदवारहरुलाई हराउन र स्वतन्त्र उम्मेदवार महावीर पुनलाई जिताउन सफल भएका छन् । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीबाट राजिनामा दिई माघ ६ गते म्याग्दी आएर स्वतन्त्र उम्मेदवारी दिनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुने देशैभरीको एक्लो उम्मेदवार छन् ।


पुन विजयी हुनुमा व्यक्तित्व,प्रचार शैली र क्षमता मात्रै होइन देश विदेशमा रहेका म्याग्देली सन्तानहरुको महत्वपूर्ण भूमिका रहेको छ । “अभिभावकहरुको मत परिवर्तन गराउन सन्तानहरुको महत्वपूर्ण भूमिका रह्यो ।

विदेशमा रहेका आफ्ना सन्तानहरुले एक पटक आफ्नो कुरा सुनिदिन र पहिला जुन पार्टीलाई मत दिँदै आएको भएपनि यसपटक महावीरका लागि निरन्तरको दबाबले काम गरेको छ। विदेशमा रहेका म्याग्देलीले अभिभावक, आफन्तसँगै गाउँमा रहेका विद्यालय, यूवा क्लव, आमा समुह लगायतका संघसंस्थामार्फत समेत समुदायस्तरमा निरन्तर अभियान सञ्चालन गरेको देखिन्छ । समुदायमा पुगेर मत हाल्न सिकाउने गरेका दृष्यहरुले समेत यसपटक महावीरलाई प्रवासीको साथ रहेको पुष्टी हुने आधार छन् ।

अभिभावकहरुले विगतमा कांग्रेस,एमाले र नेकपालाई दिँदै आएको मत परिवर्तन गरी स्वतन्त्र उम्मेदवार पुनलाई दिएका कारण पुनले अत्याधिक मत ल्याएको माउण्ट एभरेष्ट आमाविका प्रिन्सिपल राजु केसीले बताए । सधैंभरी अभिभावकको कुरा सुन्ने गरेका सन्तानहरु यस पटकको निर्वाचनमा भने आफ्ना कुरा अभिभावकलाई बुझाउन र उनीहरुको मन परिवर्तन गराउन सफल भएकाले प्रत्यक्ष र समानुपातिकतर्फको मतमा परम्परागत दललाई धक्का लागेको केसीको भनाई छ ।


“विदेशमा रहेका युवाहरुको बढ्दो चेतना,ज्ञान, देशको अवस्था र राजनीतिक दलका नेताहरुको क्रियाकलापका कारण बढेको नैराश्यता नै मत परिवर्तनको मुख्य कारण हो” केसीले भने । वर्षौदेखि भोट दिँदै आएका राजनीतिक दल र ती दलका नेताहरुको काम र प्रवृत्तिबाट युवाहरुमा उत्पन्न भएको नैराश्यतालाई उनीहरुले आफ्ना अभिभावकहरुलाई राम्रोसँग बुझाउन सके,सन्तानको विचार र बुझाइलाई अभिभावकहरुले पनि मन पराए र उनीहरुले मत परिवर्तन गरेकाले अबका दिनमा पनि दललाई भोट माग्न थप चुनौति हुने अनुमान गरिएको छ ।


जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ७१ वर्षिय झकबहादुर गर्बुजाले विदेशमा रहेका आफन्तले यसपटक महावीरलाई भोट दिन आग्रह गरेपछि आफूले पहिला भोट दिँदै आएको पार्टीलाई नदिइ पुनलाई नै भोट दिएको बताए । “वर्षौवर्षदेखि एउटै पार्टीलाई भोट दिनुभयो,खै के पाउनुभयो र ? तपाइँहरु गाउँमा दुःख गर्ने,हामीले विदेशमा रातदिन नभनी काम गर्नुपर्ने अवस्था परिवर्तन भएन । यस पटक भोट परिवर्तन गर्नुहोला बुबा ! छोराको यो भनाइले आफ्नो मन छोय पछि भोट परिवर्तन गरेर महावीर पुनलाई हाँले” झकबहादुरले भने । जिल्लाका ४५ वटै वडामा यसपटक प्रवासमा रहेका सन्तान, गाउँले र आफन्तहरूसँगै समुदायस्तरमा समेत दलका उम्मेवदारको विकल्पमा भोट मागेको देखिन्छ ।


राजनीतिक दल र नेताहरु प्रतिको नैराश्यता र सन्ततीहरुको दवावका कारण यस पटक म्याग्देली जनताले मत परिवर्तन गरेर भारी मतले स्वतन्त्र उम्मेदवार महावीर पुनलाई जिताएका छन् ।प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुन १४ हजार नौ सय ३१ को फराकिलो मतान्तरसहित निर्वाचित भएकोमा नेपाली कांग्रेसले ४ वटा वडा, नेकपा एमाले २ वटा वडा र नेकपाले १ वडा बाहेक सबैमा महावीरले उछिनेका थिए ।

महावीरले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै बिजयी हुदाँ प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी(केबी)ले ६ हजार ६ सय ७३ मत र नेकपाका अर्जुन थापाले ३ हजार ५ सय ३० मत प्राप्त गरेका थिए । म्याग्दीमा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो ।

Leave a Comment