---Advertisement---

म्याग्दीमा स्वतन्त्र उम्मेदवारको उदय

On: March 12, 2026 8:44 AM
Follow Us:

पछिल्लो प्रतिनिधिसभा निर्वाचनको परिणामले म्याग्दीको राजनीतिक समीकरणमा ठूलो परिवर्तन देखाएको छ। जिल्लामा लामो समयदेखि प्रभाव जमाउँदै आएका परम्परागत दलहरूलाई यसपटक स्वतन्त्र उम्मेदवारले उनीहरूले ‘कोर एरिया’ मानेका क्षेत्रमा समेत कडा चुनौती दिएका छन्।

वि.सं. २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीका तत्कालीन सभापति खमबहादुर गर्बुजा (खम्बीर) २४ हजार २१ मत प्राप्त गर्दै विजयी हुनुभएको थियो। उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठ ले २० हजार १८९ मत प्राप्त गर्नुभएको थियो। धवलागिरि गाउँपालिका–१ गुर्जाको मतदान केन्द्रबाट सुरु भएको मतगणनामा गर्बुजाले निरन्तर अग्रता कायम राख्दै विजय हासिल गर्नुभएको थियो।

तर यसपटक भने परिदृश्य पूर्ण रूपमा बदलिएको देखिएको छ। स्वतन्त्र उम्मेदवार महावीर पुन ले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गर्नुभयो भने कांग्रेसका कर्णबहादुर भण्डारी (केबी) ले ६ हजार ६७३ मत र नेकपा (माओवादी केन्द्र) का अर्जुन थापा ले ३ हजार ५३० मत प्राप्त गर्नुभएको थियो।

जिल्लामा परम्परागत रूपमा दलहरूको बलियो प्रभाव मानिएका क्षेत्रहरूमा समेत स्वतन्त्र उम्मेदवार पुनले उल्लेखनीय मत ल्याउँदै ठूलो मतान्तरसहित विजय हासिल गर्नुभएको हो। जिल्लाका विभिन्न स्थानीय तहका बलिया मानिएका वडाहरूमा समेत कांग्रेस र एमाले अपेक्षाभन्दा निकै कमजोर देखिएपछि दलहरू अचम्मित बनेका छन्।

धवलागिरि गाउँपालिकाका लुलाङ, मुदी, मराङ र ताकमलाई एमाले नेताहरूले लामो समयदेखि आफ्नो ‘कोर एरिया’ भन्दै आएका थिए। तर यसपटक लुलाङ बाहेकका अन्य वडामा एमाले अपेक्षाकृत कमजोर देखिएको छ। यता कांग्रेसले मल्कवाङ क्षेत्रमा केही राम्रो मत प्राप्त गरे पनि अन्य धेरै वडामा मत उल्लेख्य रूपमा घटेको देखिएको छ।

जिल्लाभरको समग्र मतपरिणाम हेर्दा प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारलाई मतदाताले समर्थन गरेको र समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश वडामा अग्रस्थान हासिल गरेको देखिएको छ। एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका अर्जुनबहादुर थापाले आफ्नै वडामा समेत अग्रता लिन नसकेको परिणाम सार्वजनिक भएको छ। कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले भने रघुगंगा गाउँपालिकाको भगवती, पिप्ले र कुईनेमंगले वडामा अग्रता लिनुभएको थियो।

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक स्वतन्त्र उम्मेदवार महावीर पुनको लोकप्रियता र त्यसको प्रभावका कारण परम्परागत दलका उम्मेदवारहरू प्रभावित भएका हुन्। स्वतन्त्र उम्मेदवारलाई प्रत्यक्षतर्फ मत दिए पनि समानुपातिकतर्फ पार्टीलाई मत आउने दलहरूको अपेक्षा भने पूरा हुन सकेन।

यस निर्वाचनमा दुई प्रदेशसभा सदस्य रहेको माओवादी केन्द्रले समेत जमानत जोगाउन आवश्यक पर्ने खसेको मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेको परिणाम सार्वजनिक भएको छ। स्थानीय तह र वडास्तरका जनप्रतिनिधिहरूले मतदातालाई विश्वास दिलाउन नसक्दा उम्मेदवारहरूले अपेक्षा गरेअनुसार मत प्राप्त गर्न नसकेको विश्लेषण गरिएको छ।

यस नतिजाले पुराना दलहरूलाई आफ्नो संगठन र जनसम्पर्क पुनः सुदृढ गर्न चुनौती थपिएको छ भने नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको जनमतलाई कायम राख्नु पनि उत्तिकै चुनौतीपूर्ण हुने देखिएको छ।

म्याग्दीमा समानुपातिकमा रास्वपा पहिलो
म्याग्दीमा समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सबै ६ वटै स्थानीय तहमा फराकिलो मत सहित सम्राग नतिजामा पहिलो दल बनेको छ । गत बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा समानुपातिक तर्फको मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाले १९ हजार ९५७ मत प्राप्त गरी पहिलो भएको हो मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले दिएको जानकारी अनुसार नेकपा एमालेले ९ हजार ४ सय ५७, नेपाली कांंग्रेसले ७ हजार ५ सय ९४, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले ४ हजार १ सय ६२ मत प्राप्त गरेका छन् ।श्रम संस्कृति पार्टीले १ हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले ७ सय ६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले १ सय ७७ मत पाएका छन् ।


जिल्लामा जम्मा मतदाता ८८ हजार दुई सय ९८ रहेकोमा समानुपातिक तर्फ ४७ हजार ६ सय १६ मत खसेको मध्य एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मत मतगणना भएको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताए । जिल्लाका सबै पालिकाहरुमा रास्वपाले अग्रता लिएको थियो । परम्परागत दलहरुले प्रत्यक्षमा जस्तै समानुपातिकतर्फ राम्रो मत पाउन सकेनन् । यसपटक दलको पकट क्षेत्र मानिएका वडाहरुमै प्रत्यक्षमा स्वतन्त्र र सामानुपातिकमा घण्टीले बोट बटुलेको छ ।


दुबैतर्फको मतगणना सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य सहित सुरक्षा निकायका प्रमुखको उपस्थितीमा स्वच्छ, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय, मतदाता, पत्रकार लगायत जिल्लावासीलाई धन्यवाद दिइएको थियो ।


Leave a Comment