म्याग्दी कलाकार समाज म्याग्दीद्धारा म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको छैठौ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष मिम पुर्जालाई सम्मान गरेको छ । काठमाण्डौमा बसोबास गर्ने म्याग्देली कलाकारको साझा संस्था समाजले आगामी दिनमा सांगीतिकसँगै अन्य रचनात्मक कार्यमा मोनासँग सहकार्य गर्ने जनाएको छ ।

सोही अवसरमा समाजका संरक्षक बरिष्ठ लोकदोहोरी गायक खड्ग गर्बुजा, सल्लाकार तथा गायक नरबहादुर बिसी, सल्लाहकार तथा गायक राजन भुजेल, सचिव गायक प्रकाश दुतराज, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्थान नेपाल यूके शाखाका पूर्व अध्यक्ष टक शेरचनले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि मोना आइइसीका अध्यक्ष मिम पूर्जाले म्याग्दीको कला र सांंस्कृतिमार्फत पर्यटन प्रर्बधनमा विशेष योगदान पुगेको बताउनुभयो । मोनाले गर्ने कार्यक्रमहरमा म्याग्देली कलाकारलाई आगामी दिनमा समेत प्राथमिकता दिने बताउनुभयो । प्रमुख अतिथि पूर्जाले म्याग्देली कलाकारमार्फत विश्वभर म्याग्दीको नाम समेत चिनिएकोमा प्रशंसा गर्नुभएको थियो ।

समाजकी अध्यक्ष लाली बुढाथोकीले सांगीतिक क्षेत्रमा मोनाले म्याग्देली कलाकारलाई दिएको अवसरले कला क्षेत्रको प्रर्वधनमा सहयोग पुगेको बताउनुभयो । समाजले गितसंगीतसँगै जिल्लाको पहिचान झल्किने गरी काम गर्ने योजना बनाएकाले साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । सम्मान कार्यक्रमको अध्यक्ष बुढाथोकी, स्वागत कलाकरा अलिजिवा पुन र सञ्चालन महासचिव राम गगनले गर्नुभएको थियो ।















