डढेलो जोखिम कम गर्न डिभिजन वन कार्यालय म्याग्दीले बन डढेलो ब्यवस्थापन सचेतना सप्ताह सुरु गरेको छ। चैत्र १ देखि ७ गतेसम्म एक हप्ता सञ्चालन गरिने ‘वन डढेलो सचेतना सप्ताह’ मा डढेलोको हिसाबले अति संवेदनशील समुदाय स्तरमा विविध कार्यक्रम गरिने छ ।
जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख दिलकुमारी खत्रीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा म्याग्दीका स्थानीय तह तथा वडास्तरमा समेत आगलागी नियन्त्रण गर्नका लागि आवश्यक पर्ने उपकरण र डढेलो नियन्त्रण सम्बन्धी ठोस कार्ययोजना बनाएर डढेलो नियन्त्रणमा सक्रिय हुनुपर्नेमा जोड दिइएको छ।

डढेलो नियन्त्रणका लागि समन्वय र सहजीकरण गर्न स्थानीय तहहरूले आवश्यक पहलका बारेमा समेत समन्वयमात्क बैठकमा जिल्लाका समयअनुसार हुने विभिन्न विपदका घटनाहरूमा गम्भीरता नदेखाउँदा अघिल्लो बर्ष आगलागीका घटना धेरै भएकाले सामुहिक प्रयासमा डढेला नियन्त्रण गर्न सकिने प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यको भनाई छ ।
बैठकमा डिभिजन बन कार्यालयका प्रमुख बसन्त केशब अधिकारीले वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न डढेलो सचेतना सप्ताह कार्यक्रम बाहेक पनि आफ्नो क्षेत्रमा सक्रिय हुनुपर्नेमा जोड दिए ।

जिल्लाका ६ वटै स्थानीय तहमा रहेका डिभिजन वन कार्यालय अन्तर्गतका सामुदायिक वन, स्थानीय तहमार्फत विभिन्न संघसंस्थामार्फत वन उपभोक्ता सचेतिकरण, सर्वसाधारणमा सूचना प्रवाह,जोखिमयुक्त क्षेत्र सरसफाई, विद्यालय शिक्षा,समुदायमा डढेलो नियन्त्रणका लागि समुह गठन र परिचालनका साथै जोखिम भएका स्थानमा अग्निरेखा बनाइने छ ।
बैठकमा बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रबक्ता रमेशकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख सहित सरोकारवाला निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
म्याग्दीमा प्राकृतिकभन्दा मानवीय कारणले डढेलो लाग्ने गरेकाले समुदायस्तरमा सक्रियता र सचेतना कार्यक्रम नै न्यूनिकरणका लागि मुख्य आधार हुने बताइएको थियो । ६५ प्रतिशत डढेलो चैत्र र वैशाख मध्यतिर लाग्ने गरेको छ। पछिल्ला दिनमा डढेलोका घटना वृद्धि भई मानवीय क्षतिसँगै वनस्पति, जीवजन्तु र जैविक विविधताको नास हुँदै गएको छ।
जसले गर्दा वायु प्रदूषण समेत बढ्दै गएकाले गाउँ गाउँमा सचेतना सामग्री वितरण, माइकिङ, रेडियोबाट सूचना सामग्री प्रसारण, फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका कार्य गर्नुपर्ने डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ । डढेलो जोखिमको दृष्टिकोणले नेपालको ७७ जिल्लामध्ये म्याग्द्यी ३० औं स्थानमा रहेको छ ।










