---Advertisement---

ज्योति विकास बैंकको विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रम

On: March 15, 2026 7:56 PM
Follow Us:

ध्रु्रवसागर शर्मा

ज्योति विकास वैंक शाखा कार्यालय बेनीले आइतबार (आज) विद्यार्थीसँग वित्तीय शिक्षा, साक्षरता र सचेतना अभिवृद्धि कार्यक्रम गरेको छ । माउण्ट एभरेष्ट आवासीय माविमा अध्ययनरत कक्षा ११ का ३५ जना विद्यार्थी,बैंक तथा वित्तीय संस्थाका प्रमुख र जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रतिनिधिका बीचमा सचेतना अभिवृद्धि कार्यक्रम गरेको हो ।

बैंक तथा वित्तीय संस्थाबाट प्राप्त सेवा, सुविधा धेरैभन्दा धेरै नागरिकले उपयोग गरेको अवस्थामा प्रभावकारी मागमा वृद्धि हुने, छरिएको आयबाट बचत परिचालन गर्न सकिने, कर्जा तथा लगानी गरी आर्थिक क्रियाकलापलाई वृद्धिलगायतका विषयमा जानकारी दिन ज्योति विकास वैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम गरेको ज्योति विकास बैंक शाखा कार्यालय बेनीका प्रवन्धक दिपेन्द्र शर्माले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई वैंकमा नै लगेर चेक,पासबुक लगाएत डिजिटल सिस्टमको बारेमा समेत जानकारी गराइएको उहाँको भनाइ छ । नागरिकहरू वित्तीय रूपले जति धेरै साक्षर हुन्छन् त्यति नै धेरै बैंकिङ सेवाबाट लाभान्वित हुन सक्ने भएकाले विद्यार्थीसँग वित्तीय शिक्षा, साक्षरता र सचेतना अभिवृद्धि कार्यक्रम गरेको प्रवन्धक शर्माले बताउनुभयो । विद्यार्थीलाई जागरुप बनाउँदै विद्यार्थीहरूमार्फत आम नागरिक अभिभावक र स्वयम विद्यार्थीले वित्तीय साक्षरता पाए अरूलाई सहज हुन्छ भनेर विद्यार्थीलाई लक्षित गरिएको उहाँको भनाइ छ ।

वित्तीय शिक्षाको अभावमा उचित निर्णय लिन नसक्दा गम्भीर आर्थिक दुर्घटना भएका र ठूलो वित्तीय क्षति समेत व्यहोर्नुपर्ने, समाजमा नकारात्मक असर पर्ने र विभिन्न वित्तिय अपराधका घटनाहरु समेत घटिरहेका अवस्थामा ज्योति विकास वैंकको यो कार्यक्रम अत्यन्त सान्दर्भिक र उपयोगि रहेको माउण्ट एभरेष्ट आवासीय माविका प्राचार्य राजु केसीले बताउनुभयो ।

‘मानिसहरूको उमेर समूह, शैक्षिक योग्यता, आर्थिक अवस्था आदिका कारण विभिन्न वर्गका मानिसहरूका लागि फरक फरक वित्तीय शिक्षा आवश्यक रहेको प्रशिक्षक एवम् ज्योति विकास वैंकका कर्मचारी सुसन ढकालले बताउनुभयो । कार्यक्रममा बैंकका सञ्जय मानन्धर र जिल्ला प्रहरी कार्यालय म्याग्दीका मोहन भुजेलले साइबर अपराध र अनलाइनमार्फत भइरहेका वित्तिय अपराधका बारेमा विद्यार्थीहरुलाई जानकारी दिनुभएको थियो । कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने वैंकका प्रमुख शर्माले बताउनुभयो ।

सोमबार कक्षा १२ का विद्यार्थीहरुलाई उक्त प्रशिक्षण दिइने उहाँको भनाइ छ । आफूहरूले विद्यालयस्तरमा वित्तीय साक्षरताका विषयमा अध्ययन गराउँदै आएको र यहाँ वित्तीय साक्षरता लिएका विद्यार्थीलाई विद्यालयस्तरमा अरु विद्यार्थी साक्षरता सिकाउन लगाउने प्राचार्य केसीले बताउनुभयो । कार्यक्रममा विद्यार्थीलाई बजेट निर्माण गर्ने, आम्दानी र खर्चको विवरण तयार गर्ने, बचत गर्ने तथा ऋण लिने प्रक्रिया र बीमाका बारेमा जानकारी गराइएको थियो ।

Leave a Comment