म्याग्दीको रघुगंगा गाउँपालिकाले विकास निर्माण योजनाहरुको अनुगमन र मुल्याङ्कनमा कडाई गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाबाट कार्यान्वयन भइरहेका विकास निर्माण योजना तथा कार्यक्रमको गुणस्तर र प्रभाबकारीकता बढाउन गाउँपालिकाले अनुगमनलाई जोड दिएको हो । गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिकसहितको कर्मचारी टोलीले पालिकाभित्रका विकास निर्माण योजनाहरुको नियमित अनुगमन गर्दै आएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले सम्पूर्ण जनप्रतिनिधि,लाभग्राही समूदाय, पत्रकार,बुद्धिजीवि एवं सरोकारवाला र आम जनसमुदायलाई पालिकाबाट कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रमको नियमित रुपमा अवलोकन र निरिक्षण गरि गलत भइरहेको भएमा रोक्न, ठिक ढङ्गबाट काम गर्न सम्बन्धित पक्षलाई दबाब दिन र पालिकालाई समयमै सहि सूचना दिन आह्वान समेत गर्नुभएको छ ।
गाउँपालिकाले निर्माण व्यवसायि र उपभोक्ता समितिले कमशल र गुणस्तर हिन काम गरेमा लागत अनुमान (स्टीमेट) बमोजिम काम नगरेमा भुक्तानी रोकेर कानुन बमोजिम कारबाही समेत हुने उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले विभिन्न ठाउँमा अनुगमन गर्दा गुणस्तरहिन काम भएका योजनाहरुमा गुणस्तहिन कामलाई तत्काल हटाएर गुणस्तरीय काम गर्न निर्देशन समेत दिने गरेको छ ।
रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेको करिब १८३ वटा योजनाहरुमध्ये ६२ वटा योजना सम्झौता भएर कार्यान्वयनको चरणमा रहेका छन् । चालु आर्थिक बर्षमा ३३ वटा योजना निर्माण सम्पन्न भइसकेका छन् । गाउँपालिकाले ७ वटा योजना ठेक्का मार्फत कार्यान्वयन गरेकोमा ४ वटा सम्पन्न भइसकेको पालिकाको योजना शाखाले जनाएको छ ।
अनुगमनको क्रममा गुणस्तरहिन निर्माण कार्य भएको भेटिएपछि सो निर्माण कार्यलाई हटाएर गुणस्तरीय कार्य अगाडी बढाउन निर्देशन दिइरहेको दृष्य सामाग्री यहाँ समावेश गरिएको छ ।








