---Advertisement---

बलात्कार गरी बालिकाको हत्या : दोषीलाई कारबाही गर्न ध्यानाकर्षण

On: March 15, 2026 9:13 PM
Follow Us:

महिला तथा बालबालिका विरुद्ध हुने बलात्कारजन्य अपराध तथा हालै भएको बलात्कारपछि हत्याको घटनाका दोषीलाई कार्वाहीको माग गर्दै महिला सम्बद्ध समुहले सदरमुकाम बेनीमा आइतबार बिरोध गरेका छन् । गत फागुन २३ गते सुर्खेतमा बालिकाको बलात्कारपछि हत्या भएको बिरोधमा महिला सम्बद्ध संस्थाहरुले विरोध जुलुस सहित ज्ञापनपत्र बुझाएका हुन् ।

गैरसरकारी संस्था मिलन म्याग्दीको अगुवाईमा विभिन्न २० वटा संस्थाहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । सुर्खेतमा बालिकाको बलात्कारपछि हत्या र २६ फागुनमा पनि आफ्नै नाता पर्ने व्यक्तिबाट १२ वर्षिय बालिका बलात्कृत भएको घटनाका दोषीलाई कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापन बुझाएको शिक्षाका लागि राष्टिय अभियान नेपालकी दिलमायाँ बिटालुले बताइन् ।

यौन हिंसा सभ्य समाजको लागि अत्यन्त लज्जास्पद र अस्वीकार्य अपराध भएकोले यस्तो घटनाका दोषीलाई हदै सम्मको कार्वाही गर्नुपर्ने मिलन म्याग्दीकी मिना राम्जालीको भनाई थियो ।  किशोरी तथा महिला माथि हुने यस्ता जघन्य हिंसाका घटनाहरु निरन्तर रुपमा दोहोरीनु राज्य संयन्त्रको कमजोर कार्यान्वयन, दण्डहिनता र पिडीतमैत्री न्याय प्राणालीको अभावले गर्दा हुने भएकाले यस विषयमा गृह मन्त्रालयले गम्भीर भएर अगाडी बढ्नु पर्ने मिलन महिला सहकारीकी तिलकुमारी रानाले बताईन ।

२० वटा संस्थाहरुको सहभागिता रहेको जुलुस मिलन म्याग्दीको कार्यालयबाट शुरु भएर जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर कोणसभा सहित सकिएको थियो । सभालाई महिला अधिकारका लागि राष्टिय अभियान नेपालकी जमुना आचार्यले सम्बोधन गरेकी थिइन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले आफुले तत्कालै सम्बन्धीत निकायमा पठाउने प्रतिबद्धता जनाएका थिए । उनले राज्यले निर्माण गरेका कानुनहरु कार्यान्वयन भै रहेको र हुने भएकाले दोषी कानुनी दायरामा आउने र कार्वाही हुने तथा पिडीतले न्याय पाउने सन्दर्भमा शंका नगर्न आग्रह गरेका थिए । जुन स्थानमा घटना भएको छ त्यही अनुसन्धान र न्याय निरुपणको काम हुनेमा ढुक्क हुन उनले आग्रह गरेका थिए ।

Leave a Comment