म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटमा रहेको साविक अर्जुन मावि स्रोतकेन्द्रको शनिवार पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । पूर्व पदाधिकारी तथा प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुको बीचमा पर्यटकीयस्थल लभ्लीहिलमा पुनर्मिलनसहितको कार्यक्रम गरिएको हो ।

पुनर्मिलन कार्यक्रमको अवसरमा रमाइलो भेटघाट तथा वनभोज समेत आयोजना गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्दै बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले समुदायको मुख्य अङ्ग शिक्षा क्षेत्र भएकाले शिक्षाको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरुमा पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्दै गैरहेकाले विद्यार्थी आकर्षण गर्नका लागि सबै क्षेत्रबाट विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख विदुर शर्मा चापागार्इँले वर्तमान समयमा शिक्षालाई प्रविधिसँग जोड्नुपर्ने बताउँदै हरेक शिक्षकहरु प्रविधिमैत्री भएर आफूलाई अगाडि बढाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । शिक्षा विकास तथा समन्वय इकाई बागलुङका शाखा अधिकृत दलबहादुर थापाले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि समुदायस्तरमा रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्न आवश्यक रहेको बताउँदै शैक्षिक क्षेत्रको विकास र प्रवद्र्धनमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका २ नम्बर वडाका वडा अध्यक्ष यामबहादुर क्षत्रीले पुनर्मिलन कार्यक्रमले शैक्षिक क्षेत्रमा भएका समस्याहरुको समाधानमा सहयोग पु¥याउने बताउँदै शिक्षा क्षेत्रलाई प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रमको समापन गर्दै अर्जुन मावि स्रोतकेन्द्रका पूर्व स्रोतव्यक्ति एवं पुनर्मिलन कार्यक्रमका संयोजक दुर्गाराम सुवेदीले वर्तमान अवस्थामा स्रोतकेन्द्रहरु खारेज भए पनि एकापसमा हातेमालो गरेर शिक्षा क्षेत्रको समस्या समाधान गर्न तथा अनुभवहरु आदानप्रदान गर्नका लागि पुनर्मिलन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र रामचन्द्र मावि अर्जमका प्रअ सस्तविर आले मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अर्थ संयोजक यामबहादुर रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम अर्जुन मावि भकुण्डेका प्रअ डिलबहादुर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।










